सिंह–कोइरालालाई देखाएर निधीद्वारा ‘खोक्रो’ शक्ति प्रदर्शन, भातको राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधी र शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

काठमाडौंको भीमसेनगोलास्थित निवासमा उप–सभापति निधीले नेताद्वय सिंह र कोइरालालाई बोलाएर सोमबार लञ्च मिटिङ’ गरेका हुन् ।

झण्डै दुई घण्टाको सम्वादमा कांग्रेसको १४औँ महाधिवेशनका विषयमा छलफल भएको चर्चा छ ।

नेपाली कांग्रेसका संस्थापक नेताहरू वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीका छोराहरूको यो बैठकले नयाँ तरंग ल्याइदिएको छ ।

सभापति शेरबहादुर देउवाको समूहलाई छाडेर आफ्नै गुट निर्माण गरेका निधीले ‘पावर शो’ गर्न सिंह र कोइरालालाई घरमा बोलाएर ‘लञ्च मिटिङ’ (भातको राजनीति) गरेका हुन् । निधीले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

निधीले नेताद्वय सिंह र कोइरालासँग आफू सभापतिमा उम्मेदवार बन्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ । तर, सिंह र कोइरालाले निधीलाई सभापतिमा सहयोग गर्ने वा नगर्ने केही भनेका छैनन् । यी तीन नेताहरूमा सिंह सिनियर मानिन्छन् ।

हुन त सभापतिमा नेता सिंह र महामन्त्री कोइरालाले पनि आकांक्षा देखाएका छन् । सिंह र कोइरालाले सभापतिमा उम्मेदवारी दिने चर्चा हुने गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिमा उम्मेदवार बन्ने तयारी गरेपछि सहमति हुन सकेको छैन ।

देउवा सभापतिमा पुनः दोहोरिन चाहेका छन् । देउवाले आफू निकटका केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग सभापतिमा उम्मेदवारी दिनेभन्दै सहयोगका लागि आग्रह गरिसकेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन नजिकन थालेपछि निधीले आफूलाई सक्रिय बनाएका छन् । निधीसँग विशेष गरेर देउवा निकटकै नेताहरू गएका छन् ।

पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट पनि केही नेताहरू गएको चर्चा छ । निधीले १४औँ महाधिवेशनमा आफूलाई जवरजस्त रुपमा उतार्ने तयारी गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा गृहजिल्ला धनुषामा तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका निधी आफ्नै प्रदेश नं. २ मा कमजोर मानिन्छन् ।

Published : Monday, 2021 June 21, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया