कांग्रेससामु ओलीको लज्जास्पद हार, एमालेकै नेताहरू समेत खुसी
पोखरा । नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेशको मुख्यमन्त्री पदको शपथ लिएर जिम्मेवारी सम्हालेका छन् ।
पोखरेलले शनिबार प्रदेश प्रमुख सीता पौडेलसँग शपथ लिएका हुन् । पौडेलले नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित चार जना मन्त्रीलाई शपथ खुवाएकी हुन् ।
संविधानको धारा १६८ उपधारा (५) अनुसार प्रदेश प्रमुख पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
मन्त्रीका रुपमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले शपथ खाएका छन् । उनीहरूले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।
मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजिव गुरुङको समर्थन रहेको छ ।
नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नेपालीलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्ति गर्न माग गर्दै ३१ जना सांसदसहित दाबी गरेका थिए ।
शनिबार एमालेका नेता पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेका थिए । गुरुङले गण्डकी प्रदेश सभा विघटन गर्ने तयारीका साथ षड्यन्त्र शुरु गरेपछि विपक्षी गठबन्धनका सांसदहरूले कांग्रेस नेता नेपालीलाई मुख्यमन्त्री नियुक्तिको माग गरेर प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना बसेका थिए । बाध्य भएर एमाले पछाडि हटेपछि नेपाली मुख्यमन्त्री बनेका थिए ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गण्डकी प्रदेशको सरकार बचाउन ठूलो तिकडम गरेका थिए । तर, ओलीले एमालेको गण्डकी प्रदेश सरकार बचाउन सकेनन् । कांग्रेसले एमालेलाई धुलो चटाएर सत्ता कब्जा गरेको छ ।
यसैबीच, एमालेका नेता गुरुङ पछाडि हट्नुमा माधव नेपाल समूहले दिएको चेतावनी कारक मानिएको छ । गण्डकी प्रदेशमा नेपाल समूहका एक जना सांसद छन् । सांसद ईन्द्रलाल सापकोटा नेपाल समूहका मानिन्छन् ।
प्रदेश सभा विघटनतर्फ गए आफ्नो समर्थन नरहने र विद्रोह गर्ने चेतावनी सापकोटाले गुरुङलाई दिएपछि एमाले गण्डकी प्रदेशमा सरकार बनाउने हर्कतबाट पछाडि हटेको थियो ।
गुरुङलाई सापकोटाले चेतावनी दिँदै भनेका थिए, ‘मैले विश्वासको मत लिँदा पनि तपाईंलाई समर्थन जनाएकै हो, विघटनको बाटोमा लाग्नुभयो भने साथ दिन सक्दिनँ ।’
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा दाबी गर्न दिएको समय सकिएर विपक्षी गठबन्धन सडकमा धर्ना बसिरहेका बेला सापकोटाले मुख्यमन्त्रीलाई आफ्नो धारणा बताएका थिए ।
सापकोटाले एमाले गण्डकीका संसदीय दलका मुख्य सचेतक मायनाथ अधिकारीलाई पनि उक्त जानकारी दिएको बताए ।
सापकोटासँग संसद विघटनको विपक्षमा यसअघि ओली समूहका सांसद मानिएका रोशन गाहा मगर र महेन्द्र थकाली पनि रहेको बताइएको छ ।
आफ्नै पार्टीभित्र बिग्रह देखिने भएपछि गुरुङले मुख्यमन्त्रीको दाबीबाट पछाडि हटेको बताइएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया