महाधिवेशनबारे कांग्रेसको बोल्ड निर्णय, खुसी हुँदै बाहिरिए नेताहरू

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका अलिकति पर धकेलिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले असार ५ गतेदेखि शुरु गर्ने भनिएको गाउँ, नगर, क्षेत्र, जिल्लाहरूको अधिवेशन साउनको ६ गतेदेखि गर्ने सहमति भएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘कार्यतालिका सलाइडली परिवर्तनको प्रस्तावको कुरा आएको छ’, उनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक बसेर यसलाई छलफल गरेर निर्णय लिइनेछ ।’

‘प्रस्तावित कार्यतालिकालाई पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकबाट ठीक छ भन्ने सहमति भएको छ’, डा.महतले भने, ‘असार ५ को सट्टा साउन ६ बाट शुरु भएर भदौ १६, १७ र १८, १९ गते महाधिवेशन सम्पन्न हुने गरेर प्रस्ताव गरिएको छ ।’

‘पार्टी सभापतिको तर्फबाट महामन्त्रीले प्रस्ताव गर्नुभएको छ । सबैले ठीक छ भन्नुभएको छ’, डा.महतले भने, ‘केन्द्रीय समितिमा राखेर छलफल गरेर निर्णय हुनेछ ।’

कांग्रेसले साढे पाँच वर्ष ननाघ्ने गरेर १४औँ महाधिवेशन गर्ने निर्णय गरेको डा.महतले बताए । उनले प्रस्तावित कार्यतालिकाबारे निर्णय गर्न असार ३ गते केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।

कांग्रेसले कोरोनाविरुद्धको भ्याक्सिन तत्काल उपलब्ध गराउन पनि माग गरेको छ ।

‘सरकार कोरोनाको आडमा सुरक्षाकवच जसरी सत्तामा बसिरहन खोजेको छ’, डा.महतले भने, ‘जनता असुरक्षित छन् । आफू मात्रै सुरक्षित भएको छ । सरकारको यो रवैयाको भर्त्सना गर्दै सबै जनतालाई तत्काल भ्याक्सिन लगाइदिन माग गरिएको छ ।’

यसअघि भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय थियो । कांग्रेसलाई भदौभित्र महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था छ ।

यसैबीच, नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सरकार निर्माणमा भएको बिलम्बको भर्त्सना गरेको छ । संविधान र लोकतन्त्रलाई पालना गरेर अगाडि बढ्न कांग्रेसले सबैलाई अपील गरेको छ ।

Published : Saturday, 2021 June 12, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया