कांग्रेस नेताहरूले पाए गण्डकीमा संविधान विपरितको गन्ध, निधि–खाण–खतिवडाद्वारा एकै पटक दवाव
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई तत्काल मुख्यमन्त्रीमा नियुक्त गर्न दवाव दिएका छन् ।
शुक्रबार राति कांग्रेस नेताहरूले सामाजिक सञ्जालमार्फत कागजी लिखतसहित गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत गर्दा समेत प्रदेश प्रमुखबाट नेपालीलाई नियुक्त नगर्नु प्रदेश प्रमुखको अपरिपक्वता भन्दै आलोचना गरेका हुन् ।
कांग्रेस उप–सभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाण र युवा नेता रामहरि खतिवडाले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ढिलाइ गरेको भन्दै प्रदेश प्रमुख सीता पौडेलमाथि विभिन्न खालका आशंका गरेका छन् ।
कांग्रेस उप–सभापति विमलेन्द्र निधिले गण्डकी प्रदेशमा संसदीय दलका नेता नेपालीले बहुमत पुर्याएर दाबी गर्दा समेत मुख्यमन्त्रीमा नियुक्त नगर्नु कतै षड्यन्त्र त हुन लागेको होइन भनेर आशंका गरेका छन् ।
‘गण्डकी प्रदेशमा बहुमत पुग्ने ३१ जना सदस्यसहित उपस्थित भएपनि कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगरी भोलिसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन हो’, ट्वीट गर्दै निधिनले आशंका गरेका छन् ।
निधिले भने, ‘चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन । अति भयो ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाणले पनि प्रदेश प्रमुख सीता पौडेलको गैरजिम्मेवारी र अपरिपक्वताप्रति आलोचना गर्दै संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।
‘गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन सक्नु भएन’, विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका खाणले भने, ‘मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखबाट आह्वान भएको छ ।’
‘नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी नेपाल, स्वतन्त्र सांसद राजिव गुरुङ ‘दीपक मनाङे’सहित ३१ जनाले गएर लिखत दस्तखत गरेको दाबी पत्र पेश गरेकोले ३१ जना सांसद प्रदेश प्रमुख समक्ष आफै प्रस्तुत भए’, उनले भने, ‘मुख्यमन्त्रीमा विधिवत दाबी गरेको कारणले कृष्णचन्द्र नेपालीलाई नियुक्ति गरिसक्नुपर्ने थियो ।’
‘एउटा मुख्यमन्त्री पदमा बहुमत पु¥याएर दाबी गर्ने हो । ६० जना प्रदेश सभाका सदस्य हुन्’, नेता खाणले भने, ‘६० जनामा सभामुख बाहेक ५९ जना सांसद छन् । ५९ मा ३१ जना सांसद भनेको स्पष्ट बहुमत हो ।’
उनले भने, बहुमत भएपछि प्रदेश प्रमुखले नियुक्ति गरिसक्नु पर्ने थियो । स्पष्ट रुपमा दाबी प्रस्तत गरिसक्दा पनि नियुक्ति नगरेर नियुक्तिलाई विलम्ब गर्नुपनि अपरिपक्व हो ।’
‘प्रदेश प्रमुखको अपरिपक्वता हो । एकै पटक दुइटा सरकार बन्न पनि सक्दैन’, खाणले भने, ‘विधिवत रुपमा संख्या पु¥याएर दुइटाले दाबी गर्न पनि सक्दैनन् । विधिवत बहुमत पुर्याएर प्रदेशका सांसदहरूको दस्तखत गरेको दाबी पत्र र स्वयम् स–शरीर उपस्थित भएर हामी ३१ जना छौँ भनेर प्रदेश प्रमुखलाई र प्रदेश प्रमुख कार्यालयलाई अवगत गराएर सनाखत गरेपछि नियुक्ति गरिसक्नुपर्ने थियो ।’
कांग्रेस नेता खाणले भने, ‘संसदीय पद्धति र परम्परामा बहुमत पुर्याएर दाबी गर्न नियुक्त गरिन्छ । प्रदेश प्रमुख सीता पौडेलज्यूले नियुक्तिमा विलम्ब गर्नु प्रदेश प्रमुखको अपरिपक्वता हो ।’
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसले गण्डकी प्रदेशमा शानदार बहुमतसहित मुख्यमन्त्रीमा दाबी गरेको भन्दै तत्कालीन कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।
खतिवडाले भने, ‘गण्डकी प्रदेशमा बहुमत प्रदेश सदस्यहरूले लिखत गरेर नेपालीलाई मुख्यमन्त्रीमा अविलम्ब नियुक्ति गर्न माग गरेपछि प्रदेश प्रमुखले आलटाल गर्नु संविधान र लोकतन्त्रविरुद्धको हर्कत हो ।’
‘संविधानअनुसार मुख्यमन्त्रीमा कांग्रेससहितका विपक्षी दलहरूले दाबी प्रस्तुत गरेका छन्’, खतिवडाले भने, ‘कृष्णचन्द्र नेपालीज्यूलाई मुख्यमन्त्रीमा नियुक्त नगरेर फेरि कुनै षड्यन्त्र त गर्न लागिएको होइन ? यदि संविधानविरुद्धको हर्कत भयो भने निर्णयकर्ताहरूले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’
कांग्रेसले गण्डकी प्रदेशमा संविधान र विधि प्रक्रियालाई अनुशरण गरेर ३१ जना सांसदको हस्ताक्षर र स–शरीर उपस्थित गराएर मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गर्न माग गर्दा समेत प्रदेश प्रमुख सीता पौडेलले अटेर गरी नियुक्त नगरेपछि कांग्रेस नेताहरूले विभिन्न आशंका गर्दै तत्काल नियुक्त गर्न माग गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया