काठमाडौंमा यी ११ स्थानमा तरकारी पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका ११ स्थानमा वैकल्पिक तरकारी बजारका लागि ठाउँ तोकेको छ ।

कालीमाटीसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा भीड बढेपछि काठमाडौं महानगरपालिकाले विभिन्न ११ स्थानमा वैकल्पिक तरकारी बजारका लागि ठाउँ उपलब्ध गराउने भएको हो ।

महानगर क्षेत्रभित्रका कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गगंबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको छ ।

पहिलो चरणमा महानगरपालिकाले परीक्षणका लागि ११ ठाउँबाट थोक विक्रीका लागि स्थान उपलब्ध गराएको काठमाडौं महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले बताए ।

विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म विक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ ।

बुधबारदेखि यी ठाउँहरूबाट तरकारी विक्री सुरू गर्ने तयारी रहेको उनले बताए ।

भारतबाट तरकारी तथा फलफूल नेपाल भित्रिँदा जोखिम बढ्ने भन्दै भारतबाट भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्ण रूपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वभाविक मूल्यबारे सम्बन्धित सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ ।

Published : Monday, 2020 April 6, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया