अर्काे कम्पनीकाे ग्यास सिलिन्डर रिफिल गर्न पाइने

काठमाडौं । डिलरहरूले आइतबार दिउँसो १ बजेपछि १४.२ केजी ग्यास भरिएको ग्यास सिलन्डर मौज्दात राखे कारबाही हुने भएको छ ।

नेपाल आयल निगमले शुक्रबार दिएको निर्देशनमा केही बुँदा थप गर्दै उनीहरूलाई आफूसँग भएका सबै भरी सिलिन्डर १ बजेसम्म बेचिसक्न आग्रह गरेको हो ।

शनिबार थप भएको निर्देशनमा डिलर तथा विक्रेतालाई दैनिक सुरुवाती मौज्दात र उद्योगबाट प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी जानकारी टाँस्नु पर्नेछ ।

निगमले १ बजेसम्म भरी सिलिन्डर बिक्री नभए सम्बन्धित ग्यास उद्योगलाई फिर्ता गर्न निर्देशन पनि दिएको छ ।

भण्डारण गरेको पाइएका सिलिन्डर विक्रेता डिस्टिब्युटरलाई कारबाही हुने निगमले चेतावनी दिएको छ । पहाडी जिल्लाको हकमा उपरोक्त अनुसारको व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोके बमोजिम हुनेछ ।

निगमले उद्योगीहरूलाई एक–अर्काको कम्पनी सिलिन्डर भरी आपूर्ति व्यवस्था गर्न सक्ने सुविधा दिएको छ । निगमबाट अर्को व्यवस्था वा निर्देशन नभएसम्मका लागि ग्यास व्यवसायीले आपसमा सहमति गरेर यसो गर्न सक्नेछन् ।

एक–अर्काको उद्योगको सिलिन्डर रिफिल गरेर गुनासोरहित ढंगबाट सहज, सरल र समानुपातिक तवरबाट बिक्री गर्ने व्यवस्था मिलाउन सक्ने व्यवस्था निगमले गरेको छ ।

Published : Saturday, 2020 March 28, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया