रहर लागेको थियो टाटु बनाएः टीका जैसी

टीका जैसी, मोडल

झण्डै तीन सय म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल टीका जैसीका दिनहरू व्यस्ततामै चलेका छन् । काठमाडौं बसाइँ पनि धेरै भइसक्यो । ‘तीन सय जति म्युजिक भिडियोमा अभियन गरिसकेको छु’, उनले भनिन्, ‘शुरुवाती दिनमा म्युजिक भिडियोमा खेल्न रहर लाग्थ्यो ।’ त्यसो भए आजकाल रहर लाग्दैन ? भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यस्तो होइन शुरुमा जसरी म्युजिक भिडियोमा खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । आजकाल मलाई त्यस्तो लाग्दैन ।’

म्युजिक भिडियोका अलावा जैसीले सांस्कृतिक कार्यक्रम, महोत्वसहरूमा पनि नृत्य गर्दै आएकी छिन् । फ्रिस्टाइलमा नाच्न मन पराउने जैसीको डिमाण्ड छ । देशभित्र हुने अधिकांश सांस्कृतिक कार्यक्रममा मोडल जैसी पुगेकी हुन्छिन् ।

आफ्नो नृत्यको कलालाई भगवानले दिएको उपहार ठान्ने जैसीले भनिन्, ‘सबैले राम्रो नृत्य गरेको भनेर प्रशंसा गर्नु हुन्छ ।’ उनले आगामी दिनमा आफ्नो नृत्य कलालाई अझै निखारेर अगाडि बढ्ने योजना बनाएकी छिन् । मोडलिङमा चलेका अधिकांश कलाकारहरूसँग जैसीले काम गरिसकेकी छिन् । भन्छिन्, ‘सबै कलाकार, निर्देशक, गायक, गायिकासँग काम गरिसकेकी छु ।’

उनलाई काम गर्न कुनै लाज लाग्दैन । भन्छिन्, ‘म सामान्य परिवारबाट कामको खोजीमा काठमाडौं छिरेकी हुँ । शुरुवाती दिनमा धेरै दुःख कष्ट व्यहोर्नु पर्‍यो । कामलाई कहिल्यै पनि सानो वा ठूलो भन्दिन ।’ काम गरेर खान कुन लाजमान्नुपर्ने विषय नरहेको जैसीले सुनाइन् । म्युजिक भिडियो र सांस्कृतिक महोत्वस नभएका बेला जैसीले अहिले पनि दोहोरी साँझमा नृत्य गर्छिन् । ‘तलव आउँछ । दोहोरी साँझमा नृत्य गर्ने गरेको छु’, उनले सुनाइन्, ‘आगामी दिनमा मैले धेरै गर्नुछ ।’

मोडलिङ क्षेत्र ग्ल्यामर्स भएकाले प्रेम प्रस्ताव गर्नेहरू उनका लागि खासै ठूलो विषय होइन । धेरैले प्रेम प्रस्ताव राखेको उनको भोगाइ छ ।

बर्दिया जिल्लाबाट काठमाडौं प्रवेश गर्दै गर्दा यति ठूलो शहरमा हराउँछु कि भन्ने उनलाई डर थियो । पछि काठमाडौं उपत्यका उनका लागि पहिचानको शहर बनिदियो । आफ्नै भन्नेहरूले बेलाबखत दुःख दिने, झुठ बोल्ने गरेको देख्दा मन खिन्न हुने गरेको उनले बताइन् । ‘सबैभन्दा ठूलो कुरा विश्वास र ईमान्दारिता हो’, जैसीले भनिन्, ‘मलाई विश्वासघात गरेको मन पर्दैन ।’

‘आजकाल अलिक मोटी भएको छु जस्तो लाग्छ’, मोडल जैसीले भनिन्, ‘शरीरको हेरचाह पनि गर्दै छु ।’ उनले केही समयपछि आफ्नो शरीरलाई पहिलाकै अवस्थामा पुर्‍याउने तयारी गरेकी छिन् ।

मोडल जैसीका धेरै जसो म्युजिक भिडियोहरू लोकदोहोरीका छन् । आधुनिक र अन्य गीतहरूमा पनि उनको अभिनय देख्न पाइन्छ । भन्छिन्, ‘मलाई सबै प्रकारको नृत्य गर्न आउँछ । म्युजिक भिडियोमा लोकदोहोरी नै धेरै भएका छन् ।’ आफ्ना चिनेजानेका कलाकारहरू पनि धेरै जसो लोक तथा दोहोरी गीत क्षेत्रकै रहेको उनले बताइन् ।

फेशनअनुसारका कपडा र गहना उनलाई मन पर्छ । भन्छिन्, ‘यस्तै कुरा लगाउ भन्ने छैन । आफूलाई सुहाउँदो र समय परिवेशअनुसारको फेशन गर्न मन लाग्छ ।’ उनले शरीरमा टाटु पनि बनाएकी छिन् । यसबारेमा उनी भन्छिन्, ‘टाटु बनाउने रहर लागेको थियो । बनाए ।’

Published : Thursday, 2019 November 7, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया