ठेकेदारले गोली हान्दा व्यापारीको ज्यान गयाे

जनकपुरधाम । जनकपुरधाममा बक्यौता रहेको रकम ताकेता गर्दा एक जना व्यवसायीले ज्यानै गुमाउनु परेको छ ।

बुधबार जनकपुरधाम– २, वकिल टोली निवासी शिव आयल निगमका सञ्चालक मनोज साहको गोली हानेर ज्यान लिइएको हो । साहले बक्यौता रहेको रकम ताकेता गर्दा गोली हानेर ज्यान लिएको जनाइएको छ ।

साहलाई निर्माण व्यवसायी ‘पंकज’ भनिने शंकर चौधरीले गोली हानेर ज्यान लिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । चौधरीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

साहलाई गोली हानेर लुक्न भागिरहेका चौधरीलाई नजिकै रहेको घरबाट पक्राउ गरिएको छ ।

बिहान करीब १० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका – १४ मुजेलिया निवासी ठेकेदार चौधरीले साहलाई डिजल वापतको बक्यतौता रकम माग्न आएको बेलामा घरमै गोली हानेका हुन् ।

स्थानीयका अनुसार करीब आधा घण्टासम्म पंकजको घरमा दुवैबीच विवाद भएको थियो । एक्कासि गोली चलेको आवाज आएको थियो । स्थानीयहरू घटनास्थलमा पुग्दा मनोज गोली लागेर ढलेका थिए ।

मनोजका पारिवारिक श्रोतका अनुसार पंकजले आयल निगमबाट डिजेल लिएको र केही नगद ऋण लिएको रकम महिनौदेखि ताकेता गर्दा पनि दिएका थिएनन् । चौधरीले साहलाई पैसा लिन आउ भनेर घरमा बोलाएका थिए ।

साहको छातीमा दुई वटा गोली लागेको छ । चिकित्सकका अनुसार मुटुमा गोली लागेका कारण साहको तत्कालै मृत्यु भएको थियो ।

साहलाई गोली हान्ने निर्माण व्यवसायी चौधरीलाई कडाभन्दा कडा कारवाही गर्न परिवारजनले माग गरेका छन् ।

प्रहरीले चौधरीको साथबाट एक थान अटोमेटिक पेस्तौल, त्यसमा लाग्ने गोली १९ थान, एक थान नलकटुवा पिस्तौल र त्यसमा लाग्ने तीन राउण्ड गोली समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Published : Wednesday, 2019 October 23, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया