‘डन’ रमेश बाहुन र प्रकाश मालीका राईटह्याण्ड गुण्डा पक्राउ, नेकपाको संरक्षण

काठमाडौं । ललितपुरसहित विभिन्न स्थानमा असुली धन्दा चलाउँदै आएका गुण्डा नाइके उदय गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेल एरियाका गुण्डा नाइके गिरीलाई साउन १७ गते धापाखेलस्थित निवासबाट महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।

गिरी केन्द्रीय कारागार सुन्धारामा सजाय भागी रहेका कथित ‘डन’ रमेश बाहुन र ललितपुरका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका गुण्डा नाइके प्रकाश मालीका खास मान्छे हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाईल नम्बरहरू प्रयोग गरी भारतमा समेत गई फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई रू.७५ लाख माग गर्ने कार्यमा संलग्न जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. २४ बस्ने वर्ष ३० को उदय गिरीलाई यस अपराध महाशाखाको टोलीले साउन १७ गते ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलबाट पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको छ ।’

गुण्डा नाइके गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको विज्ञप्तिमा उल्लेख छ ।

गण्डा नाइके गिरीलाई धापाखेल एरियामा जग्गा प्लटिङ गर्ने व्यवसायी र जग्गा दलालहरूलाई धम्काएर अबै असुली गर्दै आएका थिए । गिरीले धापाखेल क्षेत्रबाट मात्रै पटक–पटक गरी १ करोडभन्दा बढी रकम असुली गरिसकेका छन् ।

गिरी ललितपुरमा कहलिएका गुण्डा नाइके मालीका दाहिने हात हुन् । गिरीले विभिन्न ठाउँमा असुली गरी मालीलाई रकम बुझाउँदै आएको महानगर प्रहरी महाशाखा टेकुका एक उच्च प्रहरी अधिकारीले बताए ।

गुण्डा नाइके माली अपहरण, फिरौती लगायत विभिन्न मुद्दामा १० पटकभन्दा बढी पटक प्रकाउ परिसकेका छन् । मालीलाई ललितपुर क्षेत्र नम्बर १ का पूर्वएमालेबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालसँग सम्बन्ध छ ।

नेकपाका सांसद सिलवालले नै गुण्डा नाइके मालीलाई संरक्षण दिँदै आएको ललितपुरका पीडित व्यापारीहरूले बताएका छन् ।

गुण्डा नाइके माली काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका कथित ‘डन’ रमेश बाहुनका खास मान्छे हुन् ।

बाहुनले उनै मालीलाई कारागारबाट सिधै फोन गरेर ललितपुर जिल्लामा अबैध असुली, अपहरण, व्यापारीहरूलाई धम्की, जग्गा कारोबारीहरूसँग चन्दा उठाउने लगायतका कार्य गराउँदै आएको उच्च प्रहरी स्रोतले जनाएको छ ।

मालीकै निर्देशन र खटनपटमा गिरीले ललितपुर क्षेत्रमा गुण्डागर्दी गर्दै आएका थिए । गिरीले आफूलाई कथित ‘डन’ बाहुन र गुण्डा नाइके मालीको खास मान्छे हुँ भनेर धम्काउँदै अबैध असुली गरेर हैरान बनाएपछि पीडितहरूको उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।

गुण्डा नाइके गिरी पक्राउ परेपछि सत्तारुढ नेकपा निकटका नेताहरूलाई तनाव भएको छ । गिरीलाई छुटाउन राजनीतिक नेतृत्व सलबलाउन थालेको छ ।

प्रतिनिधि सभाको निर्वाचनका बेला कथित ‘डन’ रमेश बाहुनका राईटह्याण्ड प्रकाश माली तत्कालीन एमालेबाट उम्मेदवार बनेका सिलवाललाई जिताउन हिँडेका थिए । मालीलाई अहिले पनि सिलवालले नै संरक्षण गर्दै आएका छन् ।

गिरी पक्राउ परेपछि माली पनि अण्डरग्राउण्ड भएका छन् । उनी लुकीछिपी हिँड्ने गरेको प्रहरीले जनाएको छ । माली र गिरीको कनेक्सनका बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान चलाएको छ ।

मालीले सत्तारुढ नेकपाको आडमा ललितपुरमा अबैध असुलीसहित गरैरकानूनी गतिविधि र हर्कतहरू गर्दै आएका छन् ।

Published : Sunday, 2019 August 4, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया