देउवा निराश हुनुहुन्न, अधिवेशन र पार्टीको आधिकारिकता लिन केन्द्रित भएको पाएँ : सूर्य थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका नेता सूर्यबहादुर थापाले भेट गरेका छन् ।

आइतबार एमाले नेता थापाले देउवासँगको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । थापाका अनुसार देउवा पार्टीको १५औं नियमित महाधिवेशन समयमा सम्पन्न गर्न र पार्टीको आधिकारिकता लिन केन्द्रित रहेका छन् ।

एमाले नेता थापाले लेखेका छन, `देउवा दाजुसँग सात क्लिक ! नेपाली कांग्रेस १.० का सभापति तथा पाँच पटक देशको प्रधानमन्त्री रहिसक्नुभएका आदरणीय शेरबहादुर देउवा दाजुसँग महत्वपूर्ण भेट र भलाकुसारी भएको छ ।´

`२०८२ भदौ २३ र २४ अघि, पछि र हालसम्मको विश्लेषण, समीक्षा र मूल्यांकन गर्दा उहाँ बुझ्नुपर्ने विषय र तथ्यमा एकदम स्पष्ट हुनुहुन्छ,´ थापाले भनेका छन्, राजनीतिका उकाली-ओराली, भञ्ज्याङ र देउराली सबै थाहा छ।सबैका नियत र नियती देख्नु/भोग्नुभएको छ ! राजादेखि रङ्कसम्मको यावत मान, सम्मान, अपमान र भुक्तमान खेपेर पनि निराश हुनुहुन्न ।´

`८० बर्षको उमेरमा पनि जोसिलो हुनुहुन्छ।भिन्न पार्टी र फरक सम्बन्धमा पनि खुल्न र मनको कुरा बोल्न सक्नुहुन्छ,´ थापाले भने, यतिबेला उहाँको खास जोड काँग्रेस १.० को पन्ध्रौं महाधिवेशन सम्पन्न गर्नु र आधिकारिकता प्राप्त गर्नुमा केन्द्रित रहेको छ।रूख चिन्ह पाउनु नै मुख्य हो भन्नेमा उहाँ स्पष्ट र दृढ हुनुहुन्छ । यस भेटको गहन पक्ष, परिदृश्य र परिणाम क्रमश: सार्वजनिक हुँदै जानेछन् ।´

Published : Sunday, 2026 November 22, 9:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया