सीआईबीद्वारा हात्तीको दाह्रासहित ३ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु हात्तीको दाह्रा आखेटोपहार सहित तीन जना मानिसहरुलाई पक्राउ गरेको छ ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले मंसिर ८ गते ३ जनालाई पक्राउ गरेको शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरसँगको समन्वयमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १९ स्थित सार्वजनिक स्थानबाट अवैध रुपमा ओसारपसार गरी खरिद विक्री गर्न ल्याएको अवस्थामा संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार थान–१ सहित उक्त अवैध कार्यमा संलग्न ३ जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
तीन जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर मार्फत डिभिजन वन कार्यालय, राप्ती, मनहरी, मकवानपुरमा बुझाइएको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नं. १९ बस्ने बर्ष ४९ को मानबहादुर गोले, हेटौँडा उपमहानगरपालिका वडा नं. १० बस्ने बर्ष ७९ को चतुरसिं लामा वाईबा र रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. २ बस्ने बर्ष ५८ को श्रीबहादुर जिम्बा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया