वीरबहादुर बलायरद्वारा कांग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति समेत रहेका नेता वीरबहादुर बलायरले केन्द्रीय उपसभापति पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।

मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुन लागेको नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सभापति बलायरले उपसभापति पदमा उम्मेदवारी दिने जनाएका हुन् । उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेको छु । सबैको सहयोग र सद्भावको अपेक्षा राखेको छु ।’

पूर्वमन्त्री समेत रहेका सभापति बलायरले सुदूरपश्चिम प्रदेशमा पार्टीको संगठन निर्माणमा प्रशंसनीय भूमिका खेलेका छन् । केन्द्रीय राजनीतिमा पनि सभापति बलायरको ठूलो भूमिका छ ।

सभापति शेरबहादुर देउवालाई ठूलो अन्याय भएको बताउँदै आएका सभापति बलायरले आफूलाई नियमित महाधिवेशनको पक्षमा जबरजस्त रुपमा उभ्याउँदै आएका छन् । उनले अहिलेसम्म कसैलाई पनि सार्वजनिक रुपमा व्यक्तिगत रुपमा गालीगलौज र आक्षेप लगाउने कार्य गरेका छैनन् ।

बलायर कांग्रेसभित्र सालिन र भद्र नेताका रुपमा परिचित छन् । विधि, प्रक्रिया, विधि र राजनीतिक संस्कारको कुरा गर्दै आएका बलायरले राजनीतिक इमान्दारिता देखाउन सबैलाई अनुरोध गरेका छन् ।

Published : Thursday, 2026 November 19, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया