सीआईबीद्वारा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानूनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेको सीआईबीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूसँगै श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् ।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानूनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपियाँ मलेसिया पठाउने निर्णय गरिएको थियो ।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ ।
श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानूनी उपचार नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया