गण्डकी प्रदेशका मन्त्री न्यौपानेद्वारा समाचारको खण्डन
काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपानेले रिपब्लिका दैनिक डटकमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
बिहीबार मेलबाट खण्डन पठाएर रिपब्लिका दैनिकमा प्रकाशित आफूविरुद्धको अनियमितता गरेको भनी प्रकाशित फोटोसहितको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘उक्त समाचारमा ‘गगनको २.० कांग्रेसका प्रिय मन्त्री नै मानव तस्करमा संलग्न, पत्नीलाई शरणार्थी बनाएर क्यानडा लुकाए’ भन्ने शीर्षक राखी प्रकाशित समाचारमा उल्लेख गरिएका विषयवस्तु तथ्यमा आधारित नभई अपुष्ट सूचना तथा भ्रामक र आधारहीन विवरणका आधारमा प्रस्तुत गरिएको छ’, गोरखा कांग्रेसका जिल्ला सभापति समेत रहेका मन्त्री न्यौपानेले भने ।
‘तपाईंको माध्यमले समाचार प्रकाशन गर्नुअधि सम्बन्धित निकायबाट आधिकारिक जानकारी लिने, प्रमाणको पुष्टि गर्ने तथा सम्बन्धित पक्षको धारणा समेटने पत्रकारिताको न्यूनतम व्यावसायिक मर्यादासमेत पालना नगरी समाचार प्रकाशित हुनु दुःखद् विषय हो,’ उनले भनेका छन् ।
‘समाचारमा उल्लेख भएअनुसार मेरी पत्नी अमेरिका गएको र भिसा लिएको अवस्था नभएको, तत्कालीन समयमा मैले रातो पासपोर्ट प्रयोग नगरेको र मेरो एकमात्र पत्नी रहेको विषयलाई गलत तरिकाबाट प्रस्तुत गर्द मानव तस्करीमा बहालवाला मन्त्री न्यौपाने नै संलग्न भएको भनी लगाइएको आरोप निराधार रहेको र समाचारमा उल्लेखित विषयहरूको सत्यतथ्य प्रमाणबाट पुष्टि हुनुपर्ने मेरो स्पष्ट धारणा छ,’ उनले भने ।
‘सार्वजनिक पदमा रहेका व्यक्तिका कामकारबाहीमाथि प्रश्न उठाउने र आलोचना गर्ने सञ्चारमाध्यमको अधिकारलाई सम्मान गर्दागर्दै पनि अपुष्ट आरोपलाई स्थापित तथ्यका रूपमा प्रस्तुत गर्ने कार्यलाई स्वीकार गर्न सकिदैन,’ मन्त्री न्यौपानेले भने ।
‘अनलाइनमा गलत तथा भ्रामक विवरण प्रकाशित भएको हुँदा सोही सञ्चारमाध्यममा सोही स्थानमा खण्डन तथा सच्याइएको सूचना प्रकाशित गर्न आग्रह गर्दछु,’ उनले भने, ‘सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको सम्मान गर्द यस विषयमा प्रकाशित गलत समाचारको खण्डन प्रकाशन गरी सहयोग पुर्याउन अनुरोध गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया