आईजीपी प्रकरणबारेको सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधान कार्यालयद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि जारी गरिएको म्याद बुझ्न नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले अस्वीकार गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीको नाममा जारी म्याद बुझाउन बिहीबार सर्वोच्च अदालतका कर्मचारी प्रहरी प्रधानकार्यालय पुगे पनि भाषा नमिलेको भन्दै सचिवालयले म्याद बुझ्न अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेशका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधानकार्यालयलाई उपस्थित हुन आदेश दिएको थियो । सोही आदेशअनुसार म्याद तामेलीका लागि पुगेका अदालतका कर्मचारीलाई प्रहरी महानिरीक्षकको सचिवालयले म्याद बुझ्न अस्वीकार गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता समेत रहेका डीआईजी अविनारायण काफ्लेले भने प्रहरी प्रधानकार्यालयमा सर्वोच्च अदालतबाट कुनै पत्र नआएको दाबी गरेका छन् ।

प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरिएपछि दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले बुधबार तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

Published : Thursday, 2026 November 19, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया