अदालतमा मेरो विश्वास छ, १८ करोडको कुरा आएको छ, कसैले हाइज्याक गर्न सक्दैन : देउवा

जावलाखेल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताउँदै १८ करोडको कुरा आएको बताएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले कांग्रेसका लागि ज्यान दिन तयार रहेको बताएका हुन् ।

‘५ पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ देउवाले भने, ‘जुन पार्टीले मलाई ५ पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ ।’

कांग्रेस नेपाली जनताले बनाएको पार्टी भएको बताउँदै उनले जनताका प्रतिनिधिबाहेक कसैले पनि हाइज्याक गर्न नसक्ने बताए । ‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । नेपाली जनताको पार्टी हो,’ देउवाले भने, ‘जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै देउवाले अदालतबाट फेरि पनि न्याय पाउनेमा आफू विशवस्त भएको बताए । ‘अदालतमा मेरो विश्वास छ । १८ करोडको कुरा आएको छ,’ उनले भने, ‘अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु ।’

देउवाले २३–२४ भदौ २०८२ को घटना षडयन्त्र भएको पनि बताए । ‘त्यो षडयन्त्र थियो हेर्नुस् । जो डेमोक्रेसीका लागि लडे, जेल जीवन बिताए, ती नेताका सन्तान, आश्रम छानिछानी जलाइएको छ,’ देउवाले भने ।

कांग्रेसका संस्थापक नेताहरूका छोराहरू आफूसँग रहेको भन्दै उनले सुवर्णशमशेरका सन्तानहरूसँग पनि कुरा गर्ने बताए । ‘वीपीका छोरा, गणेशमानजीका छोरा, महेन्द्रनारायण निधिका छोरा हामीसँगै हुनुहुन्छ । किशुनजीले बिहे नै गर्नुभएन,’ देउवाले भने, ‘पार्टीका लागि पसिना बगाएका नेताहरूका सन्तानहरू हामीसँगै हुनुहुन्छ । सुवर्णशम्शेरका छोरा हुनुहुन्न । नातिहरू भोलि आउनसक्छन्, म कुरा गर्छु ।’

Published : Saturday, 2026 November 14, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया