घोराहीमा बदलिएको २.० कांग्रेसका जिल्ला नेताको घरमा प्रहरी छापा, लाखौंसहित १७ जुवाडे पक्राउ
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बदलिएको कांग्रेस अर्थात् २.० कांग्रेसका नेता भुपबहादुर डाँगीको घरमा छापामारेर नगदसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको छ ।
दाङमा प्रहरीका अनुसार शनिबार घोराही उपमहानगरपालिकाका दुई स्थानमा छापारेर जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा.हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्दा जुवाखालबाट ४ लाख ८ हजार १ सय २० रुपियाँ नगद र तीन गड्डी तास बरामद गरेको छ । बसन्त बुढाथोकीको घरबाट ९ जना पक्राउ परेका छन् ।
बसन्त बुढाथोकीको घरबाट पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी टोलका ४८ वर्षीय नवलसिंह डाँगी, घोराही–१३ डुमरगाउँ बस्ने रोल्पाको माडी गाउँपालिका–४ तालाबाङका ४३ वर्षीय निमबहादुर भण्डारी र माडी गाउँपालिका–३ तालाबाङका ४३ वर्षीय तुलबहादुर खड्का रहेका छन् ।
रोल्पाको माडी गाउँपालिका–४ तालाबाङ स्थायी ठेगाना भई हाल घोराही–१४ जनचेतना टोलमा बस्ने ३५ वर्षीय रामकृष्ण खड्का, घोराही–१८ नवलपुरका ४७ वर्षीय घरधनी बसन्त बुढाथोकी, घोराही–१४ का ४० वर्षीय यदुनाथ पाण्डे, घोराही–१० नारायणपुर स्थायी ठेगाना भई हाल वडा नं. १५ बस्ने ४० वर्षीय हिमराज केसी, घोराही–१४ का ३५ वर्षीय निमेश भण्डारी र नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा पनि पक्राउ परेको डीएसपी डा.केसीले बताएका छन् ।
यता, गोप्य सूचनाको आधारमा घोराही उपमहानगरपालिका–१५ जानकी टोलस्थित नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीको घरमा पनि प्रहरीले छापा मारेको छ । पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बदलिएको २.० कांग्रेसका जिल्ला नेता भुपबहादुर खड्कासहित ८ जनालाई पक्राउ गरेको डीएसपी डा.केसीले बताए ।
कांग्रेस नेता भुपबहादुर डाँगीको घरबाट प्रहरीले १ लाख ४ हजार ५ सय ८० रुपियाँ नगद र तीन गड्डी तास बरामद गरेको छ । कांग्रेस नेता डाँगीको घरबाट पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ जानकी टोलका ६० वर्षीय केशरबहादुर पछाई, ६८ वर्षीय घरधनी भुपबहादुर डाँगी, ६४ वर्षीय लुमासिंह बस्नेत, ६५ वर्षीय निमबहादुर पुन र ५२ वर्षीय गिरीराज केसी रहेका छन् ।
घोराही–१४ का ५३ वर्षीय ओबिन्द्र महरा, घोराही–१६ का ४७ वर्षीय तारा डाँगी र रोल्पाको रुन्टीगढी गाउँपालिका–५ का ३९ वर्षीय हिरालाल रावत पनि पक्राउ परेको डीएसपी डा.केसीले बताएका छन् ।
दुवै स्थानबाट प्रहरीले कुल ५ लाख १२ हजार ७ सय रुपियाँ नगद र ६ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया