गगन–विश्वमाथि छानविन होस्, ५१ करोडसम्मका आर्थिक लेनदेनका कुरा बाहिर आयो : जीतजंग बस्नेत

जावलाखेल । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमि तथा गैरसरकारी संस्थासँगको सम्बन्धमाथि प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले आफू मन्त्री नभएको भन्ने शर्माको अभिव्यक्तिको पनि आलोचना गरेका छन् ।

कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा भएका भनिएका आर्थिक अनियमितता र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व चयन प्रक्रियामा उठेका विषयहरूको पनि निष्पक्ष छानबिन हुनुपर्ने माग नेता बस्नेतले गरेका छन् ।

नेता बस्नेतले सञ्चारमाध्यममा १८ करोड, ३६ करोड हुँदै ५०/५१ करोडसम्मका आर्थिक लेनदेनका प्रसङ्गहरू सार्वजनिक भएपछि सम्बन्धित व्यक्ति स्पष्टीकरण दिन दौडधुपमा लागेको बताए । उनले पटक–पटक सरकार फेरिँदा चासो नदेखाउने व्यक्ति अहिले मधेश प्रदेश सरकार जोगाउन गएको भन्ने दाबी कति विश्वसनीय छ भन्दै प्रश्न गरेका छन् ।

नेता बस्नेतले पार्टीभित्र आर्थिक चलखेल र बिचौलियाहरूको प्रभाव तीव्र रूपमा बढेको आरोप लगाएका छन् । बस्नेतले व्यापार–व्यवसायको आडमा कांग्रेस कब्जा गर्ने प्रयास आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

उनले पार्टीको आन्तरिक शुद्धीकरणमा जोड दिएका छन् । उनले भने, ‘पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति होइन । ५०/५१ करोडसम्मका आर्थिक लेनदेनका कुरा बाहिर आउँदा पार्टीभित्र बिचौलिया र सीमित व्यक्तिको नियन्त्रण बढ्दै गएको गुनासोलाई बेवास्ता गर्न मिल्दैन । उठेका सबै आरोपहरूको निष्पक्ष छानबिन गरी दोषी देखिए कानूनअनुसार कारबाही हुनुपर्छ ।’

व्यावसायिक क्षेत्रमा लागेर देशको आर्थिक विकासमा योगदान पु¥याउनु स्वागतयोग्य भए पनि त्यसकै नाममा पार्टीको निर्णय प्रक्रिया र संस्थागत संरचनामा प्रभाव जमाउने प्रवृत्ति घातक हुने नेता बस्नेतले बताए । उनले व्यवसायीहरू विनोद चौधरी र उमेश श्रेष्ठलगायतलाई आ–आफ्नो पेसा–व्यवसाय गर्न खुला स्वागत रहेको जनाउँदै व्यवसायको आडमा पार्टी, अदालत र निर्वाचन आयोगलाई नियन्त्रणमा लिन खोजे कडा प्रतिवाद गर्ने बताएका छन् ।

उनले इमानदार कार्यकर्ताको सम्मान, आन्तरिक लोकतन्त्र र पारदर्शिताको रक्षाका लागि पार्टीलाई आर्थिक स्वार्थबाट मुक्त राख्नुपर्ने बताएका छन् ।

Published : Saturday, 2026 November 14, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया