डा.कोइरालाद्वारा दोलखा कांग्रेसको धमाका उद्घाटन, पार्टी एकताबाट लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा सम्भव
चरीकोट । नेपाली कांग्रेस दोलखाको १५औँ नियमित जिल्ला अधिवेशन जिल्ला सदरमुकाम चरीकोटमा भव्य समारोहका बीच उद्घाटन भएको छ ।
शनिबार नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले अधिवेशनको उद्घाटन गरेका हुन् । डा.कोइरालाले नेपाली कांग्रेसको एकताबाट मात्रै देशको समुन्नति, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा सम्भव हुने बताए ।
आफ्नो प्रमुख ध्येय नेपाली कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको उल्लेख गर्दै डा.कोइरालाले पार्टीको एकताका लागि सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्ने बताएका छन् ।
संयोजक डा.कोइरालाले नेपाली कांग्रेसका पुराना नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय भीमबहादुर तामाङको स्मरण गरेका छन् । लोकतान्त्रिक आन्दोलनमा भीमबहादुर तामाङको योगदान इतिहासले सम्झना र गर्व गर्न लायक रहेको डा.कोइरालाले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले पार्टीका मूल्य, मान्यता र आदर्शलाई संरक्षण गर्दै वर्तमान आन्तरिक अन्तरद्वन्द्वको राजनीतिक रूपमा व्यवस्थापन र समाधान गर्नुपर्ने बताउनुभयो। वैधानिकताको विषयमा आफूहरूले न्याय पाउने विश्वाससमेत व्यक्त गरेका छन् ।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गगन थापाले विधिसम्मत प्रक्रियाभन्दा बाहिर गएर अरूको उक्साहटमा पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाए ।
केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले नेपाली कांग्रेसको वर्तमान परिस्थितिमा पार्टी एकताको अपरिहार्यतामाथि जोड दिँदै आपसी समझदारी र सहकार्यबाट अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठलगायत दोलखाका स्थानीय नेता तथा कार्यकर्ताहरूले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक दिशाबारे आ–आफ्नो धारणा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया