प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभुराम थापाको उम्मेदवारी, भवन निर्माणसम्मका योजना

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष पदमा प्रभुराम थापाले उम्मेदवारी घोषणा गर्दै आगामी चार वर्षका लागि आफ्नो कार्ययोजना र प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

लामो राजनीतिक तथा संगठनात्मक अनुभव, श्रमिक आन्दोलनमा सहभागिता र प्रवासमा सामाजिक सेवामार्फत स्थापित पहिचानलाई नेतृत्वको आधार बनाउँदै उनले संगठनलाई एकताबद्ध, पारदर्शी, सशक्त र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेका छन् ।

लमजुङको साविक मोहोरीया, हाल राइनास नगरपालिका–९ मा वि.सं. २०२८ सालमा जन्मिएका थापाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

खेलकुद क्षेत्रमा समेत सक्रिय उनी करातेका दोस्रो डान ब्ल्याक बेल्ट हुन् भने नेपाल आइकिडो राष्ट्रिय संघका संस्थापक उपाध्यक्षसमेत हुन् ।

थापाको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो । वि.सं. २०३९ सालदेखि अनेरास्ववियुमा आबद्ध उनी वि.सं. २०४७ मा प्रतिष्ठानस्तरीय ट्रेड युनियनको अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि नेस्वाहोमयूको केन्द्रीय सदस्य, सहसचिव तथा सचिव हुँदै जिफन्ट राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारी सम्हाले ।

लमजुङ सम्पर्क मञ्चका संस्थापक सदस्य तथा अध्यक्ष, गण्डकी सम्पर्क मञ्चका सचिव तथा अध्यक्ष र पिपुल्स भोलेन्टियर्सका संस्थापक केन्द्रीय सदस्यका रूपमा पनि उनले संगठन निर्माणमा योगदान दिएका छन् ।

सन् २००८ देखि अमेरिकामा राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय थापा सन् २०१३ मा प्रवासी नेपाली मञ्च अमेरिकाको पहिलो राष्ट्रिय अधिवेशनबाट महासचिव निर्वाचित भएका थिए । सन् २०१७ को राष्ट्रिय अधिवेशनबाट बहुमतसहित अध्यक्षमा निर्वाचित भएपछि उनले प्रवासी नेपाली एकता मञ्च अमेरिका तथा प्रवासी नेपाली मञ्च अमेरिकाको नेतृत्व गरेका थिए ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका संस्थापक सदस्यमध्ये एक रहेका थापाले अमेरिका महादेश इन्चार्ज तथा प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । हाल उनी अन्तर्राष्ट्रिय कमिटीको उपसचिव तथा संगठन विभाग उपप्रमुखका रूपमा कार्यरत छन् । दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आयोजकको जिम्मेवारीमा समेत उनी सक्रिय छन् ।

जनआन्दोलनमा घाइते, श्रमिक आन्दोलनदेखि सामाजिक सेवासम्मको अनुभव

थापाको राजनीतिक जीवन विभिन्न आन्दोलन र संघर्षसँग पनि जोडिएको छ । पञ्चायतविरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलन, कर्मचारी आन्दोलन तथा पार्टीका विभिन्न संघर्षमा उनले सक्रिय सहभागिता जनाएका थिए । २०६२÷६३ को जनआन्दोलनका क्रममा काठमाडौंको गोंगबुमा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका उनी आन्दोलनका क्रममा पटक–पटक गिरफ्तारसमेत भएका थिए ।

पेसागत रूपमा नेपालमा रेस्टुरेन्ट तथा विद्यालय सञ्चालन गरेको अनुभव भएका थापा हाल अमेरिकामा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । सामाजिक क्षेत्रमा उनी बाना बोर्ड अफ ट्रस्टीका अध्यक्ष, बाल्टिमोर नेप्लिज क्लबका प्रथम उपाध्यक्ष, भिजन क्लब इन्टरनेसनलका निर्देशक, ब्लड डोनर एसोसिएसनका आजीवन सदस्य तथा जिफन्ट सपोर्ट ग्रुप अमेरिकाका प्रमुख सल्लाहकार छन् । लमजुङ अमेरिका सेवा समाजको प्रमुख सल्लाहकारका रूपमा पनि उनी आबद्ध छन् ।

आफ्नै भवन र कानुनी दर्तालाई प्राथमिकता

अध्यक्षमा निर्वाचित भए आगामी चार वर्षभित्र संगठनको अन्तर्राष्ट्रिय विस्तारसँगै संस्थागत र आर्थिक सुदृढीकरणलाई प्राथमिकता दिने थापाले बताएका छन् ।

उनको कार्ययोजनामा विश्वभर सदस्यता विस्तार, अन्तर्राष्ट्रिय तथा महादेशीय कमिटीहरूको सुदृढीकरण, नयाँ पुस्ता र विभिन्न पेसामा आबद्ध प्रवासी नेपालीलाई संगठनमा जोड्ने विषय समेटिएका छन् ।

नेपालमा प्रवासी नेपाली मञ्चको आफ्नै भवन खरिद गरी हाल भाडामा सञ्चालन भइरहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गर्ने योजना उनले अघि सारेका छन् । अन्तर्राष्ट्रिय, महादेशीय र राष्ट्रिय कमिटीहरूलाई सम्बन्धित देशको कानुनअनुसार दर्ता गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने तथा नियमित सांगठनिक र आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता पनि उनको छ ।

प्रवासी नेपालीको अधिकार र श्रमिकको हित मुख्य एजेन्डा

थापाले प्रवासमा रहेका नेपाली श्रमिकको उचित पारिश्रमिक, रोजगारीको सुरक्षा, सामाजिक संरक्षण, सुरक्षित कार्यस्थल र सम्मानजनक श्रम अधिकारका पक्षमा प्रभावकारी पैरवी गर्ने बताएका छन् ।

वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सरकार, राजनीतिक दल, संसद् तथा नीतिनिर्माण तहमा पहल गर्ने उनको प्रतिबद्धता छ ।

प्रवासमा आर्जित ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्ने, नेपालमा लगानीका लागि सहज वातावरण निर्माण गर्न पहल गर्ने तथा उद्यमशीलता र रोजगारी सिर्जनामा प्रवासी नेपालीको योगदान बढाउने विषयलाई पनि उनले आफ्नो कार्ययोजनामा समेटेका छन् ।

यसका अतिरिक्त विदेशमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, कला, साहित्य र संस्कृतिसँग जोड्ने, युवा नेतृत्व विकास गर्ने तथा संगठनको निर्णय प्रक्रियामा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।

सामूहिक नेतृत्व र संस्थागत एकतामा जोड

थापाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद र प्रतिष्ठाभन्दा संगठनको एकता तथा संस्थागत विकाससँग जोडिएको बताएका छन् । संगठनलाई वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा बलियो, आर्थिक रूपमा आत्मनिर्भर र प्रवासी नेपालीका सवालमा प्रभावकारी आवाज उठाउन सक्ने साझा संस्थाका रूपमा विकास गर्ने उनको लक्ष्य छ ।

विद्यार्थी राजनीति, ट्रेड युनियन आन्दोलन, प्रवासमा संगठन निर्माण, राजनीतिक संघर्ष र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई अन्तर्राष्ट्रिय नेतृत्वमा उपयोग गर्ने उनको दाबी छ ।

“व्यक्तिगत स्वार्थभन्दा संगठनको एकता, पदभन्दा जिम्मेवारी र नाराभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिँदै प्रवासी नेपाली मञ्चलाई विश्वभरका प्रवासी नेपालीहरूको भरोसायोग्य साझा संगठन बनाउने मेरो लक्ष्य हो,” थापाले आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

उनको उम्मेदवारीसँगै प्रवासी नेपाली मञ्चको आगामी नेतृत्व चयन र संगठनको भावी कार्यदिशाबारे चासो बढेको छ ।

Published : Tuesday, 2026 November 3, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया