इनम प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गर्न नेपाल बारद्वारा समिति गठन

काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।

एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको सोमबार बारद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र अधिवक्ता बाबुराम अर्याल छन् । बार सदस्य अर्याललाई सदस्य सचिवको जिम्मेवारी पनि दिइएको छ ।

एक महिनाको समयसीमा पाएको समितिले २५ मंसिरमा धनगढीमा केन्द्रीय कार्यकारिणी परिषदको बैठक हुनुअघि प्रतिवेदन बुझाउनेछ ।

‘आज मिति २०८३ कात्तिक १६ गतेको नेपाल बार एसोसिएसन कार्यसमिति, सल्लाहकार समिति समेतको संयुक्त बैठकमा न्यायपालिकासम्बन्धी समसामयिक विषयमा छलफल भई प्राप्त सुझावका आधारमा नेबाएले निम्न लिखित निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘हालको प्रकरणमा तथ्य सङ्कलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझावको लागि एक महिनाको समयसीमा तोकी निम्नानुसारको समिति गठन गरियो,’ विज्ञप्तिमा भनिएको छ ।

‘भ्रष्टाचारजन्य कार्यको नेबाएले सदैव विरोध गर्दछ । यस कार्यको निष्पक्ष अनुसन्धान र जुनसुकै ओहदा र दर्जाको वर्तमान र भूतपूर्व पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याइनु पर्दछ । यसो गर्दा दोषी देखिए तत्काल मुद्दा चलाइनु पर्दछ । यो विषय सनसनी फैलाउने विषय होइन, तत्काल राज्यको ध्यानाकर्षण हुनुपर्ने विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

‘सत्ताको कार्यकारी छायाँ न्यायपालिकामा पार्ने प्रयत्न क्रमशः हुँदै गएको महसुस गरी न्यापालिकाको स्वतन्त्र अस्तित्व गम्भीर सङ्कटमा परेको अनुभूति बैठकले गरेको छ । न्यायपालिकाको स्वतन्त्रता रक्षाको लागि नेपाल बार एशोसिएशन दृढतापूर्वक लागि पर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

Published : Monday, 2026 November 2, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया