बिचौलिया इनम काण्डबारे सर्वोच्चका न्यायाधीशहरूले छानविनमा सहयोग गर्ने, १८ करोडको कथित डिलपछि खैलाबैला

काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले विभिन्न पाँच निर्णय गरेको छ ।

सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको नेतृत्वमा बसेको बैठकले सर्वोच्चका न्यायाधीशहरूले बिचौलिया इनम सापकोटालाई भेटेको विषयमा सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेको छ ।

संविधान र कानून बमोजिम बिनापूर्वाग्रह र निष्पक्ष छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न आग्रह गरेको छ । फुल कोर्टले छानबिन तथा अनुसन्धानमा कानूनबमोजिम सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

बैठकपछि सहरजिस्ट्रार डा.अशोककुमार क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा सम्माननीय प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका माननीय न्यायधीशहरुको नाम जोडेर विभिन्न छापा तथा अनलाइन समाचार एवम् सामाजिक संजालमा प्रकाशित तथा प्रसारित समाचार प्रति यस पूर्ण बैठकको गम्भीर ध्यानाकर्पण भएको छ । सो सम्वन्धमा सम्माननीय प्रधान न्यायाधीश र सम्वन्धित माननीय न्यायाधीशहरूले आफ्नो धारणा लिखित रुपमा सार्वजनिक गरिसकनुभएको समेतका सन्दर्भमा सर्वोच्च अदालतको यो पूर्ण बैठक देहायवमोजिम निर्णय गर्दछ ।’

‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्दता हो । यसमा हामी अडिग र स्पष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानको सर्वोच्चता र कानूनको शासनप्रति गम्भीर हुन सवैमा आग्रह गर्दछौं ।’

‘सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विपयका सम्बन्धमा बिना पूर्वाग्रह, निप्पक्ष एवम स्वतन्त्र ढँगबाट संविधान र कानून बमोजिम छानवीन गरी सत्य, तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौं,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानून बमोजिम हुने छानविन र अनुसन्धानमा कानून बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता एवम् सहयोग गर्ने कुरामा हामी प्रतिवद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकोले यस संस्थासँग सम्वन्धित समाचारहरू प्रकाशन गर्दा यसले आम जनता एवम सेवाग्राहीहरूमा भ्रम र नकरात्मक असर नपरोस भनी छानविनको निष्कर्प प्राप्त नहुँदै कसैलाइ लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनैपनि समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्वन्धित सबैमा आग्रह गर्दछौं,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदा झै न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतहरूमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ,’ सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिस्ट्रार डा.क्षेत्रीले भनेका छन् ।

बिचौलिया इनम सापकोटा पक्राउ परेपछि सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि विभिन्न खालका लाञ्छनाहरू लागेका छन् । नेपाली कांग्रेसको आधिकारिकता गगन थापालाई दिन १८ करोडको डिल र न्यायाधीश सारङ्गा सुवेदीलाई ३ करोडको डिल भन्ने समाचारहरू प्रकाशित भएपछि खैलाबैला भएको छ ।

Published : Monday, 2026 November 2, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया