सरकारमा आएको ६ महिना मात्रै भएको छ, गोरखाका समस्या समाधान गर्छु : गृहमन्त्री गुरुङ
गोरखा । गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन् ।
अन्तरक्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको अवस्था, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् ।
बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको विकास तथा प्रवद्र्धनमा सरकारले पर्याप्त चासो नदिएको गुनासो गरेका छन् ।
जिल्लाको समग्र विकासलाई गति दिन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो ।
कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसानहरू समस्यामा परेको विषय पनि उठाइएको थियो । सरकारले कृषि उत्पादन तथा बजारीकरणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सहभागीहरूले नेपाली किसानले उत्पादन गरेका तरकारीले नै बजारमा प्राथमिकता पाउनुपर्ने माग गरेका छन् ।
स्थानीय उत्पादनले बजार नपाउने अवस्थाको अन्त्य गर्दै किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले ठोस पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
अन्तरक्रियामा उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या र व्यावसायिक वातावरण सुधारको आवश्यकताबारे समेत आफ्ना धारणा राखेका थिए ।
गोरखामा उपलब्ध स्रोतसाधन र सम्भावनाको सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको विषयमा सहभागीहरूले जोड दिएका छन् ।
सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने बताए ।
गृहमन्त्री गुरुङले गोरखाको विकास र नागरिकका समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, केही साताअघि आएको बुढीगण्डकीको बाढीले बगाएको पुलको पुनर्निर्माण तत्काल अघि बढाइएको विषयलाई लिएर सहभागीहरूले गृहमन्त्री गुरुङलाई धन्यवाद दिएका थिए । विपद्का कारण प्रभावित बनेको आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका हुन् ।
अन्तरक्रियाका क्रममा सहभागीहरूले गोरखावासीले भाषण र आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्व खोजेको धारणा व्यक्त गरेका थिए । जिल्लाको विकास, पूर्वाधार निर्माण, कृषि क्षेत्रको सुधार, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसायको विकासमा प्रभावकारी काम हुने अपेक्षा राख्दै उनीहरूले गृहमन्त्री गुरुङबाट परिणाममुखी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया