डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार

दुनै । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दीहरू फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, डोल्पाका अनुसार शुक्रबार मध्यराति कारागारबाट ८ जना कैदीबन्दीहरू फरार भएका हुन् । फरार हुनेमा पाँच जना जबरजस्ती करणी मुद्दाका र तीन जना चोरी मुद्दाका कैदीबन्दी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार फरार हुने आठ जनामध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन् ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालीप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन् ।

चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार फरार भएका छन् । चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला कारागारमा रहेका १७ जना कैदीबन्दी तथा थुनुवामध्ये आठ जना शुक्रबार राति सुरुङ खनेर फरार भएका हुन् । उनीहरूले कैदीबन्दी बस्ने कोठाबाट पुरानो सेप्टी ट्याङ्की हुँदै बाहिर खेलमैदानतर्फ करीब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर भागेको प्रारम्भीक विवरणमा उल्लेख छ ।

शनिबार बिहान ६ बजे कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो । घटनाबारे जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र प्रहरी नायब उपरीक्षक गिरीसहितको टोली कारागार पुगेर घटनास्थलको निरीक्षण गरेको थियो ।

प्रहरीले फरार कैदीबन्दीको खोजीका लागि जिल्लाका विभिन्न नाकामा सुरक्षा निगरानी कडा पार्नुका साथै सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

कारागारभित्रै पुरानो सेप्टी ट्याङ्की हुँदै चार मिटरभन्दा लामो सुरुङ खनेर एकैपटक आठ जना फरार हुनुले कारागारको आन्तरिक सुरक्षा र निगरानी व्यवस्थामाथि प्रश्न उठाएको छ ।

Published : Saturday, 2026 October 31, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया