सीआईबीद्वारा दुग्ध विकास संस्थानका विभागीय प्रमुखसहित ८ जनालाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा संगठित अपराध अन्तर्गतको कसूरमा संलग्न दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको छ ।
संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैर कानूनी रुपमा आर्थिक लाभ लिई संस्थानलाई गंभीर हानि नोक्सानी पु¥याउने कार्य भइरहेको भन्ने उजुरी ब्यूरोमा परेको थियो ।
प्रारम्भीक छानबिनका आधारमा सोही संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारीहरू, चिस्यान केन्द्रका प्रमुखहरू तथा कर्मचारीहरूको पूर्व–नियोजित योजना र मिलेमतोमा सङ्गठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानि÷नोक्सानी पु¥याई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपियाँ गैरकानूनी लाभ लिएको प्रारम्भीक रुपमा पुष्टि हुन आएको सीआईबीका सह–प्रवक्ता समेत रहेका एसपी योगेन्द्रकुमार खड्काद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रतिवादीहरूलाई कात्तिक १३ गते बिभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४५ का सञ्जीव झा रहेका छन् । तत्कालीन महाप्रबन्धक तथा हाल दुग्ध विकास संस्थान लैनचौरको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखको रुपमा कार्यरत झालाई सीआईबीले लैनचौरबाट नियन्त्रणमा लिएको छ ।
सिरहाको सिरहा नगरपालिका वडा नं. १ भई काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४६ का विजयकुमार यादवलाई पनि सीआईबीले पक्राउ गरेको छ । तत्कालीन सिम्ले चिस्यान केन्द्र ईञ्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टको रुपमा कार्यरत विजयलाई सीआईबीले बालाजुबाट पक्राउ गरेको जनाएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं.४ स्थायी वतन भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ५५ को मनहरी शर्मा पनि पक्राउ परेका छन् । तत्कालीन भक्तपुर चिस्यान केन्द्रको ईञ्चार्ज रहेका र हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्टको रुपमा कार्यरत शर्मालाई पोखराबाट पक्राउ गरिएको छ ।
सर्लाहीको मोहनपुर स्थायी वतन भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नं. ५ कल्याणपुर बस्ने बर्ष ४९ का रामकेवल रायलाई पनि पक्राउ गरिएको छ । राय तत्कालीन चनौली चिस्यान केन्द्रका ईञ्चार्ज र हाल काठमाडौं दुग्ध वितरण आयोजना संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टको रुपमा कार्यरत छन् । रायलाई सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ५ मोहनपुरबाट पक्राउ गरिएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ५ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नं. ५ कल्याणपुर बस्ने बर्ष २८ का जितेन्द्रकुमार यादव पनि पक्राउ परेका छन् । उनी भरपाई पदका कर्मचारी, बागमती धुलो दुध कारखाना, हेटौँडामा कार्यरत रहेका थिए । जितेन्द्रलाई भरतपुर महानगरपालिका वडा नं. ५ आनन्दपुरबाट पक्राउ गरिएको हो ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ घर भई बस्ने बर्ष ३२ को नवीन राय यादव पनि पक्राउ परेका छन् । डेरी ब्वाई पदका कर्मचारी, नवलपुर, गरुडा चिस्यान केन्द्र ईन्चार्ज रहेका नवीनलाई सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ५ मेजरगञ्जबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीले सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ५ घर भई हाल चितवनको माडी नगरपालिका वडा नं. २ बस्ने वर्ष ४६ का शिवनन्दन रायलाई पक्राउ गरेको छ । शिवनन्दन दैनिक पारिश्रमिक पदका कर्मचारी, माडी चिस्यान केन्द्रमा कार्यरत रहेका छन् । उनलाई माडी नगरपालिका वडा नं. १ भरुवाबाट पक्राउ गरिएको थियो ।
सिन्धुपाल्चोकको कालिका गाउँपालिका वडा नं.७ बस्ने बर्ष ४८ को विखबहादुर भण्डारीलाई पनि पक्राउ परेका छन् । भण्डारी जुनियर टेक्निकल असिस्टेन्ट, चिस्यान केन्द्र ईन्चार्ज माडी, चितवनमा कार्यरत रहेका बेला सोही स्थानबाट पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया