दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु, पत्नी घाइते

गौर । रौतहटको दुधिअवा–बालचनपुर सडक खण्डमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

दुर्घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । फतुवा विजयपुर नगरपालिका–११ राँगी टोलस्थित दुधिअवा–बालचनपुर सडक खण्डमा दुधिअवाबाट बालचनपुर आउँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल बिहीबार साँझ ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाराको सिमरनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी वसन्त गौतमले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो । अस्पतालमा चिकित्सकले राति प्रहरी जवान चौधरीलाई मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते निशाको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमरनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहले बताए । दुर्घटनाको खबर पाउनासाथ रौतहटको प्रहरी चौकी दुधिअवाबाट टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो ।

रौतहटको गुजरा नगरपालिका–४ पोखरिभिन्डा घर भएका प्रहरी जवान चौधरी र खड्का फरार प्रतिवादीहरू पत्ता लगाउन बाराबाट खटिएका थिए । दुवै सादा पोसाकमा कामको सिलसिलामा खटिएको प्रहरी निरीक्षक साहले बताए ।

घाइते निशाको बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2026 October 30, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया