तथाकथित विशेषवालाको निजी स्वार्थका कारण कांग्रेसमा दुई खेमा खडा भयो : नेता गिरी
तुलसीपुर । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन लुम्बिनी प्रदेश तयारी समितिका संयोजक गेहेन्द्र गिरीले तथाकथित विशेषवालाहरूको निजी स्वार्थका कारण कांग्रेसमा दुई खेमा खडा भएको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङको तुलसीपुरमा भएको नियमित महाधिवेशन पक्षधरको तुलसीपुर उपमहानगर अधिवेशनलाई सम्बोधन गर्दै गिरीले नियमित महाधिवेशनमा कांग्रेसलाई एकताबद्ध बनाउँदै नियमित र वैधानिक प्रक्रियाबाट महाधिवेशन अघि बढाउनुपर्ने बताए ।
उनले पार्टीलाई विभिन्न रणनीतिमार्फत दुईधारमा विभाजन गर्ने प्रयास भएको दाबी गर्दै यसले पार्टीसँगै देशलाई समेत अप्ठ्यारो परिस्थितिमा पु¥याएको बताए ।
नेता गिरीले केन्द्रीय कार्यसमितिले निर्णय गरी आह्वान गरेको अवस्थामा मात्र विशेष महाधिवेशनको औचित्य हुने बताए । नियमित महाधिवेशन पक्षधरले वैधानिकताको पक्षमा संघर्ष जारी राख्ने बताएका छन् ।
उनले भने, ‘जानेर वा नजानेर हामी ओरालो लाग्दैछौँ, पार्टी र देशलाई खाल्डोमा हाल्दैछौँ ।’
दाङ क्षेत्र नं. ३ का महाधिवेशन संयोजक हेमन्तकुमार योगीले नेतृत्वले समयको आवश्यकता बुझ्न नसक्दा कांग्रेस दुई दिशामा गइरहेको बताए ।
पार्टी विधानलाई बेवास्ता गर्दै हचुवाका भरमा महाधिवेशन गरिएकाले वैधानिकताको प्रश्न उठेको उनले बताएका छन् ।
नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले पार्टीको उद्देश्य, अभियान र लक्ष्य सही भए थोरै कार्यकर्ताले पनि प्रभावकारी भूमिका खेल्न सक्ने बताए ।
वीपी कोइरालाको नीति र विचारलाई आत्मसात् गर्दै कांग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने अध्यक्ष घर्तीले बताए ।
नेविसंघ दाङका पूर्व जिल्ला अध्यक्ष राजकुमार डाँगी, महाधिवेशन प्रतिनिधि केवलापति चौधरीलगायतले पनि धारणा राखेका थिए । पार्टीका ज्येष्ठ सदस्य भरतराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा विनोद पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण तरुण दल नगर सचिव अजय बुढाथोकीले गरेका थिए । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया