कांग्रेसको अधिवेशनका लागि प्यूठानमा सम्पर्क कार्यालय स्थापना, देउवा पक्षका भेट्रान नेताहरूको उपस्थिति

बिजुवार । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति प्यूठानले अधिवेशनका कार्यक्रमलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बिहीबार प्यूठान नगरपालिकाको बिजुवार बजारमा नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री रोज राणासहितका नेताहरूको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यालय उद्घाटनसहित वडा अधिवेशनको कार्यक्रमहरू अगाडि बढेको नेपाली कांग्रेस प्यूठानका संयोजक ईश्वरसिंह विष्टले जानकारी दिए । उनले भने, ‘नियमित महाधिवेशन पक्षका हामी सबैको संयुक्त प्रयासमा प्यूठान जिल्लाभरि अधिवेशन गर्नेछौँ । एकताको सन्देश दिने छौँ ।’

उद्घाटन कार्यक्रममा शेरबहादुर देउवा पक्षीय नेताहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । पूर्वमन्त्री एवम् लुम्बिनी प्रदेश सभाका सांसद समेत रहेका नेता रोज राणा, नेपाली कांग्रेस प्यूठानका संयोजक ईश्वरसिंह बिष्ट, प्यूठान नगरपालिकाका उपमेयर समेत रहेका उपसभापति देवेन्द्र बर्मा, झिम्रुक गाउँपालिकाका उपाध्यक्ष समेत रहेका सहसचिव प्रमोद पोखरेल, नेता खिमानसिंह रायमाझी, नेता देवीराम पुन मगर, प्यूठान कांग्रेसका कोषाध्यक्ष दीपक के.सी., वडाध्यक्ष एवम् प्यूठान नगर कार्यसमितिका सभापति नेत्र के.सी., वडाध्यक्ष एवम् सरुमारानी कांग्रेसका सचिव कुमार श्रेष्ठ, नेपाल तरुण दल प्यूठानका जिल्ला अध्यक्ष कृष्ण बस्याल ‘रोयल’, नेपाल सांस्कृतिक महासंघका सहमहामन्त्री अर्जुन गिरी, महासमिति सदस्य लक्ष्मी श्रेष्ठ, आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य खगेश्वर थापा, जिल्ला सदय गोमा भट्ट र राधिका केसी, वडाध्यक्ष गोपाल थापा लगायत सयौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, संयोजक विष्टका अनुसार नेपाली कांग्रेस प्यूठानको वडा अधिवेशन र पालिका अधिवेशनका लागि संयोजकहरू तोकिएको जानकारी दिए । पालिका अधिबेशन सम्पन्न गराउन पालिका संयोजकहरू मनोनयन गरिएको उनले बताए ।

प्यूठान नगरपालिकामा नेत्र केसी, मल्लरानीमा कुमार श्रेष्ठ, ऐरावतीमा एशन शाही, सरुमारानीमा पुष्प न्यौपाने, माण्डबीमा दीपक केसी, स्वर्गद्वारीमा कृष्णप्रसाद बस्याल, नौबहिनीमा देबीराम पुन मगर, झिमरुकमा प्रमोद पोख्रेल, गौमुखीमा अर्जुन गिरीलाई मनोनयन गरिएको प्यूठान कांग्रेसका संयोजक विष्टले बताएका छन् ।

Published : Thursday, 2026 October 1, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया