प्रा.डा.कोइरालाद्वारा अधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको उत्सवका रूपमा सम्पन्न गर्न अपील

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले भोलि बिहीबारबाट प्रारम्भ हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरण भएको बताएका छन् ।

शेरबहादुर देउवा पक्षीय नेताहरूले भोलि बिहीबार असोज १५ गतेदेखि नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गतको अधिवेशन शुरु गर्न लागेका छन् ।

वडा अधिवेशनको पूर्वसन्ध्यामा प्रेस विज्ञप्ति जारी गर्दै प्रा.डा.कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५औँ महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।

उनले वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, पार्टीको संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्वपूर्ण अवसर भएको बताएका छन् ।

संयोजक प्रा.डा.कोइरालाले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशनलाई सफल बनाउन अपील गरेका छन् । उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह पनि गरेका छन् ।

संयोजक प्रा.डा.कोइरालाले देशभरका सम्पूर्ण नेता कार्यकर्तालाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्न अपील गरेका छन् ।

संयोजक प्रा.डा. कोइरालाले भने, ‘नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च मनोवल, उत्साह, जिम्मेवारीबोध र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु ।’

Published : Wednesday, 2026 September 30, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया