कांग्रेसको अधिवेशनका लागि देउवा पक्षद्वारा रुपन्देहीमा सम्पर्क कार्यालय स्थापना

बुटवल । नेपाली कांग्रेस १५औँ महाधिवेशन रूपन्देहीले बुटवलमा सम्पर्क कार्यालय खोलेको छ ।

बिहीबारदेखि शुरू हुने पार्टीको वडा अधिवेशनसहित पार्टीका अधिवेशन केन्द्रित गतिविधिका लागि सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले रुपन्देही कांग्रेसको सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

नेता बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुईतिहाइ पु¥याइदिन कांग्रेसको तथाकथित विशेष महाधिवेशन गरिएको बताएका छन् । बरालले भने, ‘शेरबहादुर देउवा सभापति रहेका बेला हामी निर्वाचनको पक्षमा थिएनौं, भदौ २४ गतेको घटना जेनजी मुभमेन्टको भेरिएन्ट वान हो भने, कांग्रेसको विशेष महाधिवेशन जेनजी मुभमेन्ट भेरिएन्ट टु हो ।’

नेपाली कांग्रेस रुपन्देहीका जिल्ला संयोजक गुणाखर भुर्तेलले महाधिवेशन कार्यतालिका अनुसार अधिवेशन सञ्चालन हुने बताए । ‘हामीले विशेष अधिवेशन नगरौं भन्ने चाहेका थियौं,’ भुर्तेलले भने, ‘एउटै अधिवेशन गरौं । अहिले हतार छैन, पार्टीमा समस्या आउन भनेका थियौं । उहाँहरूले सुन्नुभएन । गगन थापा समूहले गर्न लागेको अधिवेशन सारेर मंसिरमा हुने महाधिवेशनमा गोलबन्द हुनुहोस भन्न चाहन्छु ।’

‘गगन थापाको हठका कारण कांग्रेस कमजोर भयो, बाध्यताबस महाविधेशन अहिले फुटेर गर्नुपर्ने अवस्था आयो,’ जिल्ला संयोजक भूर्तेलले भनेका छन् ।

शेरबहादुर देउवा पक्षको वडा अधिवेशन असोज १५ गतेदेखि शुरू हुँदैछ । २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन, कार्तिक २५ गते जिल्ला अधिवेशन हुँदैछ ।

मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ गतेदेखि केन्द्रिय महाधिवेशन गर्ने देउवा समूहको कार्यतालिका छ । केन्द्रीय प्रतिनिधि डा.दामोदर भुसालले गगन थापाले पार्टीको विधानलाई पालना नगरी विशेष अधिवेशनबाट माला लगाउने काम गरेको बताएका छन् ।

विशेष अधिवेशनका अनुवाइकर्ताले पार्टीलाई छिन्नभिन्न बनाएको भुसालको आरोप छ ।

Published : Wednesday, 2026 September 30, 4:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया