सुनसरी ४ को कांग्रेसको अधिवेशनमा हानाहान, क्षेत्रीय सभापतिकै टाउकोमा प्रहार

इटहरी । तथाकथित विशेष महाधिवेशनवालाहरूको नेपाली कांग्रेस सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद बढेपछि दुई पक्षबीच हात हालाहाल भएको छ ।

मंगलबार भएको निर्वाचन प्रक्रियाका क्रममा विवाद भएको थियो । केही समय निर्वाचन प्रक्रिया प्रभावित भएको छ ।

क्षेत्रीय सभापति पदमा मनोज साह र गफार अन्सारीबीच प्रतिस्पर्धा भइरहेका बेला मतदानस्थलमा फर्जी मतपत्र भेटिएको दाबीपछि विवाद सुरु भएको स्थानीय नेताहरूले बताएका छन् ।

वर्तमान क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफूहरूले मतपत्रबारे प्रश्न उठाएपछि गफार अन्सारी पक्षका व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । झडपका क्रममा आफ्नो टाउकोमा चोट लागेको उनले बताएका छन् ।

गफार अन्सारी पक्षले भने ऐयुव अन्सारीले मतपेटिकामा लात्ती प्रहार गरेर निर्वाचन प्रक्रिया अवरुद्ध पार्न खोजेको आरोप लगाएको छ । दुवै पक्षले एकअर्कामाथि आरोप लगाएपछि केही समय मतदान प्रक्रिया रोकिएको थियो ।

सुनसरी–४ मा यसपटक क्षेत्रीय नेतृत्वका लागि प्रतिस्पर्धा बढेको देखिन्छ । केही समयअघि गफार अन्सारीले क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका थिए । उनी हरिनगर गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

यसैबीच, क्षेत्रीय सभापति रहेका ऐयुव अन्सारीले पनि कांग्रेसको जिल्ला सभापतिका लागि आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । सुनसरी कांग्रेसको आगामी नेतृत्वलाई लिएर जिल्लाभित्र विभिन्न समूह सक्रिय भइरहेका बेला क्षेत्रीय अधिवेशनमा विवाद देखिएको हो ।

Published : Tuesday, 2026 September 29, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया