देउवा पक्षद्वारा कांग्रेसको १५औँ महाधिवेशनका लागि वेबसाइट सञ्चालन

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले वेबसाइट सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवा पक्षका नेताहरूले पत्रकार सम्मेलन गरेर वेबसाइट सार्वजनिक गरेका हुन् । वेबसाइटमा क्रियाशील सदस्यहरूको सदस्यतादेखि विभिन्न सूचना र जानकारीहरू राखिएको समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले बताएका छन् ।

१५औँ महाधिवेशन प्रक्रियालाई सहज र पारदर्शी बनाउन देउवा पक्षका नेताहरूले अनलाइन सदस्यता आवेदन प्रणाली शुरु गरेका जनाएका छन् ।

इच्छुक व्यक्तिहरूले नेपाली कांग्रेसको सदस्यता लिन www.nc15generalconvention.com मार्फत् अनलाइन आवेदन दिन सक्नेछन् ।

यसैबीच, कांग्रेसको क्रियाशील सदस्यता सूची हस्तान्तरण भएको छ । नेपाली कांग्रेसको १४औँ केन्द्रीय तयारी समितिका संयोजक प्रा.डा.कोइरालाको उपस्थितिमा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज पौडेलले निर्वाचन समितिका संयोजक एगराज पोखरेललाई सूची हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरित सूची अनुसार, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभर कुल ८ लाख ८९ हजार २३६ क्रियाशील सदस्य कायम भएका छन् । यसमध्ये ५ लाख ६१ हजार २६९ सदस्यको सदस्यता नवीकरण गरिएको छ भने २ लाख ९० हजार ४६७ नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

समितिका संयोजक प्रा.डा.कोइरालाको निर्देशनमा यही आश्विन १५ गतेबाट देशभरका वडाहरूमा अधिवेशन प्रक्रिया शुरु गर्ने कार्यतालिका रहेको छ । सोहीअनुरूप, वडा तहको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको निर्वाचन समितिलाई क्रियाशील सदस्यताको सूची उपलब्ध गराइएको छ ।

Published : Saturday, 2026 September 26, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया