संयोजक मल्लद्वारा पर्वत कांग्रेसको अधिवेशन गर्न नेताहरूलाई जिम्मेवारी प्रदान, सशक्त देखियो देउवा पक्ष

कुश्मा । नेपाली कांग्रेस पर्वतका संयोजक यामबहादुर मल्ल (रामकृष्ण)ले १५औँ महाधिवेशनको प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न नेताहरूलाई जिम्मेवारी तोकेका छन् ।

पर्वतमा असोज १५ गतेदेखि शेरबहादुर देउवा पक्षीय अधिवेशन गर्नका लागि संयोजक मल्लले नेताहरूलाई जिम्मेवारी तोकेका हुन् । पर्वत जिल्लामा जिल्ला, क्षेत्र तथा पालिका तहका निर्वाचन समितिहरू गठन गरिएको संयोजक मल्लले बताएका छन् ।

पर्वत कांग्रेसका जिल्ला संयोजक मल्लले आफ्नो संयोजकत्वमा २१ सदस्यीय जिल्ला निर्वाचन समिति गठन गरेका छन् ।

उनले पर्वत क्षेत्र नं. ‘१’ मा लेखबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेका छन् । पर्वत क्षेत्र नं. ‘२’ मा गुप्तप्रताप सेनको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको संयोजक मल्लले बताए ।

जलजला गाउँपालिकाको संयोजकमा अनिता मल्ललाई जिम्मेवारी दिइएको छ । अनिताको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

कुश्मा नगरपालिकामा मोहन आचार्यको संयोजकत्वमा १४ सदस्यीय समिति, मोदी गाउँपालिकामा प्रेमबन्धु प्रसाईंको संयोजकत्वमा ८ सदस्यीय समिति, फलेवास नगरपालिकामा नारायण श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति, बिहादी गाउँपालिकामा इन्दु शर्माको संयोजकत्वमा ६ सदस्यीय समिति, पैयुँ गाउँपालिकामा थानेश्वर तिवारीको संयोजकत्वमा ८ सदस्यीय समिति, महाशिला गाउँपालिकामा कृष्ण गुरुङ ‘उज्ज्वल’को संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको छ ।

यी सबै समितिहरू असोज १५ गतेदेखि शुरु हुने वडा अधिवेशन तथा १५औँ नियमित महाधिवेशनको प्रक्रिया सफल बनाउन सक्रिय रहने संयोजक मल्लले बताएका छन् ।

पर्वत संयोजक मल्लले भने, ‘अब कसैले डराउनुपर्ने छैन, अप्ठ्यारो मान्नुपर्ने छैन । यो कसैको व्यक्तिगत अधिवेशन होइन । यो नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशन हो ।’

‘हिजो जहाँ हुनुहुन्थ्यो, जुन धारमा हुनुहुन्थ्यो । त्यो आफ्नो ठाउँमा छ । तर, अब कांग्रेसको संगठन निर्माणमा सबैको सहभागिता आवश्यक छ,’ संयोजक मल्लले भने ।

‘त्यसैले पर्वतका सम्पूर्ण क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसप्रति आस्था राख्ने साथीहरूलाई असोज १५ गतेको वडा अधिवेशनमा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछु,’ संयोजक मल्लले भने, ‘अधिवेशनबाट नभागौँ, अधिवेशनमा सहभागी बनौँ । व्यक्तिभन्दा संगठनलाई माथि राखौँ । मतभेदभन्दा एकतालाई बलियो बनाऔँ ।’

‘आज अधिवेशनमा सहभागी हुने साथीहरू नै भोलि पार्टी नेतृत्व र जनप्रतिनिधिका रूपमा अगाडि बढ्ने अवसरका दाबेदार बन्न सक्नुहुन्छ,’ मल्लले भने ।

‘आउनुहोस्, सबै मिलेर १५औँ नियमित महाधिवेशन सफल बनाऔँ । बलियो कांग्रेस, एकताबद्ध कांग्रेस—हाम्रो साझा संकल्प ।’

Published : Friday, 2026 September 25, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया