गगन समूहले मान्छे नभेटाएपछि उमेर नपुगेका युवालाई क्षेत्रीय प्रतिनिधि बनायो

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले देशको कानून र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको घटनाहरू सार्वजनिक भएका छन् ।

कांग्रेसको विधान बमोजिम क्रियाशील सदस्य बन्न १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्छ । इलाममा गगन समूहले १७ वर्षका एक किशोरलाई सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनेको घटना सार्वजनिक भएपछि बिरोध भएको छ । शेरबहादुर देउवा पक्षले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनलाई बहिस्कार गरेपछि गगन समूहले वडा अधिवेशनमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि बनाउन मानिसहरू पाइरहेको छैन । मान्छे नपाएपछि उमेर नपुगेका युवा, युवतीलाई वडा कार्यसमितिमा राख्नेदेखि क्षेत्रीय प्रतिनिधि बनाउने कार्य गरेको खुलासा भएको छ ।

इलामको माइजोगमाई–५ को वडा अधिवेशनबाट १७ वर्षीय सुजल चापागाईं ३५ वर्षमुनिको युवा कोटाबाट क्षेत्रीय प्रतिनिधि चुनिएको गगन समूहले जनाएको छ ।

कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यहरू मात्रै वडा अधिवेशनमा सहभागी हुन पाउँछन् । क्रियाशील सदस्यहरूमध्येबाटै कार्य समिति र प्रतिनिधि चयन गरिन्छ ।

सुजल चापागाईंले गएको असारमा क्रियाशील सदस्यता लिएका हुन् । त्यसअघि उनी नेविसंघका सक्रिय थिए । १२ कक्षा उत्तीर्ण गरेका उनी अहिले इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् ।

१७ वर्षीय सुजल चापागाईं कांग्रेसको क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका प्रक्रियामा सहभागी भइरहँदा कांग्रेसमाथि आफ्नै विधान र देशको राजनीतिक दलसम्बन्धी ऐनको उल्लंघन गरेको आरोप लागेको छ ।

कांग्रेसको विधानको परिच्छेद २ मा सदस्यतासम्बन्धी प्रावधान राखिएको छ । विधानको दफा ४.१.१ मा कांग्रेसको सदस्यता प्राप्त गर्न ‘१८ वर्ष उमेर पुरा भएको’ उल्लेख छ भने ४.१.४ मा ‘प्रचलित कानूनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएको’ उल्लेख छ । यो त विधानको कुरा भयो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा पनि राजनीतिक दलको सदस्यताबारे योग्यता तोकिएको छ । ऐनको परिच्छेद ३ मा दलको सदस्यता तथा संगठनात्मक संरचनासम्बन्धी व्यवस्था छ । दफा १४ उपदफा २ मा १८ वर्ष पूरा भएको नेपाली नागरिकलाई दलको सदस्यता दिन सकिने उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा नै १८ वर्ष उमेर पुरा भएको हुनुपर्ने उल्लेख गरिएकाले दलहरुले पनि आफ्नो विधानमा सदस्यताका लागि १८ वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था राखेका हुन् । व्यवहारमा यसको उल्लंघन भएको पाइएको छ ।

कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐनमा मात्र होइन, बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न बन्देज लगाएको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्तिलाई बालबालिका भनिन्छ । यस्तो परिभाषा उक्त ऐनको दफा २ को (ञ) मा छ ।

बालबालिका सम्बन्धी ऐनको दफा ७ को उपदफा ७ मा कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने प्रावधान छ । प्रावधानमा भनिएको छ, ‘कुनै पनि बालबालिकालाई सेना, प्रहरी र सशस्त्र समूहमा भर्ना गर्न र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सशस्त्र द्वन्द्व वा राजनीतिक उद्देश्यको लागि प्रयोग गर्न पाइने छैन ।’

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि, यससम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त र मान्यताले पनि १८ वर्षमुनिका बालबालिकालाई राजनीति र राजनीतिक दलको दुरुपयोगबाट जोगाउनुपर्ने भन्दछ ।

तथाकथित विशेष महाविधेशन पक्षधर गगन समूहका प्रवक्ता देवराज चालिसेले नेपाली नागरिकले राजनीतिक दलको सदस्यता लिन पाउने र १६ वर्षमा नागरिकता पाउने दाबी गरेका छन् ।

चालिसेले भने, ‘१६ वर्षमा नागरिकता नै पाउने भएपछि राजनीतिक दलको सदस्य बन्न पाइन्छ । त्यसैका आधारमा हामीले सदस्यता दिएका हौं ।’

Published : Wednesday, 2026 September 23, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया