गगन समूहको अधिवेशनमा सहभागी भएका ४ शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सिफारिस

काठमाडौं । राजनीतिक दलको कार्यक्रम अर्थात् गगन थापा समूहको अधिवेशनमा सहभागी हुने शिक्षक तथा कर्मचारीलाई कारबाही सिफरिस भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाई सिन्धुलीले राजनीतिक दलको कार्यक्रममा सहभागी हुने शिक्षकहरूलाई कारबाही गर्न स्थानीय तहलाई सिफारिस गरेको हो ।

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई कारबाही सिफारिस गरेको छ । ज्ञानकुञ्ज मा.बि. पचरुखीका प्रेमप्रसाद भट्टराई, कुशेश्वर विद्यापीठ दुम्जाका सर्वेश्वर कोइराला, मा.बि. लाप्पनबतासेका अर्जुनकुमार गौतम र आधारभूत विद्यालय लंगुरडाँडाका यतिराज तिमल्सिनालाई कावाही गर्न भन्दै दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गरिएको छ । पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागलाई बोधार्थ दिइएको छ ।

गगन थापा समूहले हाइज्याक गरेको नेपाली कांग्रेसको अधिवेशन लगायतका कार्यक्रममा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई कारबाही सिफारिस गरिएको छ ।

उनीहरूको आचारण शिक्षा नियमावली २०५९ मा उल्लेखित व्यवस्था विपरित हुने भएकाले प्रचलित कानून बमोजिम कारबाही गर्न पत्रमा भनिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले पनि जिल्लाका केही विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न दलहरूको कार्यक्रमा सहभागी भएको पाइएको भन्दै गहन निगरानी गर्न जिल्लाका १० वटै स्थानीय तहलाई अनुरोध गरेको छ ।

प्रचलित शिक्षा ऐन नियमावलीद्वारा निर्धारित शिक्षक आचरण, मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनहरू प्रतिकूल हुने गरी वा त्यसको बर्खिलाप गर्नेगरी कुनै शिक्षकहरूका गतिविधि पाइएमा कानून बमोजिम आवश्यक कारबाही गर्न भनिएको छ ।

Published : Monday, 2026 September 21, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया