युट्युबर ‘मनोज मानव’ चतराको पुल नजिकैको होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
लहान । जिल्ला प्रहरी कार्यालय, सिरहाले युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, आधारहीन तथा भ्रामक सामग्री फैलाएर सामाजिक सद्भाव र शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा महतो पक्राउ परेको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लहान नगरपालिका–२४ का महतोलाई साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्ने कसूरमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर पालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीका अनुसार विभिन्न उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता, राष्ट्रसेवक कर्मचारीलगायत व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने मनसायले बिना प्रमाण, आधारहीन, तथ्यहीन तथा धम्कीपूर्ण सामग्रीहरू पोस्ट गरी सामाजिक सद्भाव र शान्तिमा खलल पार्ने कार्य गरेको आरोप महतोमाथि छ ।
प्रहरीले महतोविरुद्ध कसूरमा जाहेरी दर्ता भई जारी भएको पक्राउ पुर्जीका आधारमा खोजतलास गर्ने क्रममा उदयपुरको चतरा पुल पारीस्थित एक होटलमा लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको एसपी बासुदेव पाठकले जानकारी दिएका छन् ।
महतोसँग अटोमेटिक हतियार रहेको र आफू पूर्व जन–तान्त्रिकको लडाकु भएको भन्दै धम्की दिएको तथा उक्त हतियारको फोटो देखाएर केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महतो यसअघि पनि अभद्र व्यवहारको कसूरमा पक्राउ परेका थिए ।

बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया