एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा ६० वर्षीय रविन्द्र जोशी र ५५ वर्षीय सञ्जीव पाण्डे रहेका छन् ।

जोशी ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक घर भइ अखिल नेपाल फुटबल संघ, सातदोबाटोमा कोषाध्यक्ष पदमा कार्यरत रहेका छन् ।

पाण्डे ललितपुर महानगरपालिका वडा नं. ५ लगनखेल, थसीखेल घर भइ अखिल नेपाल फुटबल संघ, सातदोबाटोमा लेखा अधिकृत पदमा कार्यरत रहेका थिए ।

राष्ट्रिय खेलकुद परिषद, प्रधान कार्यालय, त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन, जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविन्द्र जोशी समेत भएको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगी सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा जोशी र पाण्डेलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई सीआईबीले ललितपुर जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि प्रथम पटक ४ दिन म्याद थपको अनुमति लिइएको एसएसपी जबराले जनाएका छन् ।

Published : Sunday, 2026 September 20, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया