खोटाङ कांग्रेसमा भूपेन्द्र–रोजन भर्सेस सुभाष–विष्णु, देउवा पक्षका युवा नेताहरू सशक्त हाबी
दिक्तेल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शुरु भएसँगै खोटाङ कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष पनि सतहमा आएको छ ।
खोटाङमा गगन थापा समूहका केन्द्रीय सदस्य सुभाषकुमार पोखरेल र जिल्ला सभापति विष्णुकुमार राई एकातिर देखिएका छन् । शेरबहादुर देउवा पक्षतिर कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई र पार्टी प्रवक्ता रोजन राईसहितका नेताहरू अर्कोतिर उभिएका छन् ।
शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा गगन समूहले वडा अधिवेशन सम्पन्न भएको जनाएको छ । ती अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । तर, समितिले सार्वजनिक गरेको शनिबार अधिवेशन सम्पन्न भएका ४३ जिल्लाको सूचीमा खोटाङ समावेश छैन ।
खोटाङमा भने गगन समूहले अघि बढाएको वडा अधिवेशनमा वरिष्ठ नेतादेखि वडा तहका पदाधिकारीसम्मको सहभागिता कमजोर रहेको र कतिपयले अधिवेशन बहिष्कार गरेको दाबी गरिएको छ । केही वडाका निर्वाचित सभापतिले अधिवेशनको अध्यक्षता गर्न अस्वीकार गरेको, वडा समितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि सहभागी नभएको र आवश्यक सहभागिता नपुगेका स्थानमा सीमित व्यक्तिको उपस्थितिमा प्रक्रिया अघि बढाइएको आरोपसमेत लगाइएको छ ।
अधिवेशनमा सहभागिता नजनाउने पक्षमा कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सरस्वती बजिमय, हीरा गुरुङ, कोशी प्रदेश महामन्त्री तथा निवर्तमान मन्त्री भूपेन्द्र राई, पूर्वपार्टी सभापति शिवकुमार बस्नेत, पूर्वराज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य जनक कार्की, समानुपातिक उम्मेदवार तथा महासमिति सदस्य दिनेश राई, पूर्वपार्टी उपसभापति राजन दाहाल र पूर्वमहासमिति सदस्य महेन्द्रकुमार कटवाललगायत रहेको दाबी गरिएको छ ।
त्यस्तै पार्टी प्रवक्ता तथा अनुशासन विभाग प्रमुख रोजन राई तथा पूर्वमहाधिवेशन प्रतिनिधिहरू दुरेन राई, योगेन्द्रकुमार राई, पेशलकुमार राई, केशवकुमार राई र चन्द्र बीसीलगायतले पनि अधिवेशनमा सहभागिता नजनाएको दाबी गरिएको छ ।
यता, खोटाङ कांग्रेसको पछिल्लो शक्ति समीकरणमा रोजन राईलाई देउवा पक्षले १५औँ महाधिवेशन तयारीका लागि जिल्ला संयोजकको जिम्मेवारी दिएको सार्वजनिक भएको छ । प्रा.डा.शशांक कोइरालाको संयोजनमा देउवा पक्षको महाधिवेशन तयारीमा रोजनलाई खोटाङ संयोजक बनाइएको विवरण सार्वजनिक भएपछि जिल्लाको आन्तरिक समीकरण थप स्पष्ट भएको देखिन्छ ।
यससँगै खोटाङमा सुभाष–विष्णु र भूपेन्द्र–रोजनबीचको शक्ति सन्तुलनलाई वडा अधिवेशनले थप परीक्षण गर्ने अवस्था बनेको छ ।
गगन पक्षमा रहेका सुभाषकुमार पोखरेल र जिल्ला सभापति विष्णुकुमार राईले जिल्लाको पार्टी संरचनामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । उनीहरूका पक्षबाट पार्टीको आधिकारिक संरचना र निर्वाचन प्रक्रियालाई अघि बढाउने प्रयास भइरहेको देखिन्छ । तर, विपक्षी पक्षले भने लामो समयदेखि जिम्मेवारी र अवसर पाएका नेतृत्वले कार्यकर्ता तथा जनताको अपेक्षाअनुसार संगठन विस्तार गर्न नसकेको आरोप लगाउँदै आएको छ ।
अर्कोतर्फ भूपेन्द्र राईलाई जिल्लामा विकास निर्माण र जनसरोकारका विषयमा सक्रिय नेताका रूपमा प्रस्तुत गरिँदै आएको छ । प्रदेश महामन्त्री तथा निवर्तमान मन्त्रीका रूपमा जिल्लामा गरेको कामका कारण कार्यकर्तासँगै जिल्लावासीबीच पनि उनको प्रभाव रहेको समर्थकहरूको दाबी छ ।
रोजन राई भने स्पष्ट राजनीतिक धारणा राख्ने, संगठनभित्र कार्यकर्ताको संरक्षण गर्ने र अन्याय तथा विकृतिका विषयमा कडा रूपमा प्रस्तुत हुने युवा नेताका रूपमा आफ्नो राजनीतिक पहिचान बनाउँदै आएका छन् । यही कारण भूपेन्द्र–रोजनको सक्रियतालाई यसपटक खोटाङ कांग्रेसभित्रको वैकल्पिक शक्ति परिचालनका रूपमा हेरिएको छ ।
सुभाष–विष्णु पक्ष पार्टीको औपचारिक संरचनासहित मैदानमा देखिँदा भूपेन्द्र–रोजन पक्ष कार्यकर्ता र जिल्लास्तरको राजनीतिक प्रभावलाई आधार बनाएर अघि बढेको दाबी गरिरहेको छ । अब वडा तहबाट चयन हुने प्रतिनिधिले आगामी अधिवेशनमा कुन समूहलाई बलियो आधार दिन्छन् भन्ने विषयले खोटाङ कांग्रेसको आगामी शक्ति समीकरण निर्धारण गर्नेछ ।
यसै कारण यसपटकको खोटाङ कांग्रेस अधिवेशनलाई कार्यकर्ता र जिल्लावासीले ‘कसको संगठनमा पकड छ ?’ भन्ने प्रश्नको जवाफ खोज्ने शक्ति परीक्षणका रूपमा हेरिरहेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया