विशेषवालाको एकतर्फी अधिवेशनले पार्टी विभाजन हुन्छ, पर्वत संयोजक मल्लद्वारा सहभागी नहुन अपील

कुश्मा । नेपाली कांग्रेस पर्वत जिल्ला अधिवेशन तयारी समितिका संयोजक यामबहादुर मल्ल (रामकृष्ण)ले पार्टी विभाजनबाट रोक्नका लागि तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले गर्न लागेको वडा अधिवेशन लगायतका गतिविधिमा संलग्न नहुन अपील गरेका छन् ।

शनिबार शेरबहादुर देउवा पक्षीय संयोजक मल्लले अपील जारी गरेर कांग्रेसका दुबै पक्षले अधिवेशन र महाधिवेशनको मिति सार्वजनिक गरेको अवस्थामा तथाकथित विशेष महाधिवेशनवालाहरूले गर्न लागेको अधिवेशनका कार्यक्रममा भाग नलिन आग्रह गरेका हुन् ।

उनले भने, ‘असोज ३ र ४ गते र असोज १५ गतेदेखि अघि बढ्ने भनिएका प्रक्रियाले साथीहरूमा अन्योल हुनु स्वाभाविक छ । सामाजिक सञ्जालको हल्ला, व्यक्तिगत आग्रह वा कसैको दबाबका आधारमा आफ्नो लामो राजनीतिक यात्रा र आफ्नो पार्टीप्रतिको निष्ठालाई प्रभावित नबनाऔँ ।’

‘पार्टीको आधिकारिक निर्णय, वैधानिक प्रक्रिया र विधिलाई नै हाम्रो आधार बनाऔँ,’ संयोजक मल्लले भनेका छन्, ‘हामीले बुझ्नुपर्ने एउटा कुरा छ—आज हामी जुनसुकै धारमा उभिए पनि भोलि कांग्रेस एउटै हुनुपर्छ ।’

‘आजको तिक्तता भोलिको पुस्तालाई विरासतमा नदिऔँ । आज हामीले एकअर्कालाई दिएको घाउ भोलि आफैंलाई पनि दुख्नेछ,’ संयोजक मल्लले भने ।

‘हाम्रो झण्डा चार तारा हो, हाम्रो चुनाव चिन्ह रुख हो, हाम्रो साझा पहिचान नेपाली कांग्रेस हो,’ संयोजक मल्लले भने, ‘यी कुरा कुनै व्यक्ति वा समूहका निजी सम्पत्ति होइनन्; यो लाखौँ कांग्रेस कार्यकर्ताको भावना, इतिहास र पहिचान हो ।’

‘आज कांग्रेसभित्र देखिएको परिस्थितिले हामी सबैको मन दुखेको छ,’ संयोजक मल्लले भने, ‘एउटै विचार, एउटै झण्डा र एउटै चुनाव चिन्ह बोकेर हिजोसम्म सँगसँगै हिँडेका हामीबीच आज अधिवेशनको प्रक्रियालाई लिएर अन्योल र दूरी बढ्नु वास्तवमै दुःखद् कुरा हो ।’

‘यो समय एकअर्कालाई छोड्ने समय होइन, एकअर्कालाई सम्हाल्ने समय हो,’ उनले भने, ‘यो समय हतारमा निर्णय गर्ने समय होइन, कांग्रेसको भविष्य सम्झेर विवेक प्रयोग गर्ने समय हो ।’

‘हाम्रा अग्रज नेतृत्वले जीवनभर कठिन परिस्थितिमा पनि कांग्रेसलाई मिलाउँदै, जोगाउँदै र अघि बढाउँदै आउनुभएको छ,’ मल्लले भने, ‘आज पनि सबैलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने विश्वास हामीले गुमाउनु हुँदैन । नआत्तिनुहोस्, नबहकिनुहोस्, एकअर्कालाई पराइ नठान्नुहोस् । अधिवेशन एक दिन हुन्छ । तर कांग्रेससँगको हाम्रो सम्बन्ध पुस्तौँसम्म रहन्छ ।’

‘आजको हाम्रो संयम नै भोलिको कांग्रेसको शक्ति बन्न सक्छ,’ संयोजक मल्लले भने, ‘व्यक्ति होइन, पार्टी रोजौँ । आग्रह होइन, विधि रोजौँ । विभाजन होइन, एकता रोजौँ । हामी सबै मिलेर १५औँ महाधिवेशनलाई विवादको अन्त्य र कांग्रेसको पुनःएकताको सुरुवात बनाऔँ । कांग्रेस एउटै हो । कांग्रेसजनको मन एउटै हो । हाम्रो भविष्य पनि एउटै हो ।’

Published : Saturday, 2026 September 19, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया