रुख र चार तारे झण्डा हामीसँग छ भनेर भ्राम फैलाइयो, अदालतमा विचाराधीन छ : दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले चुनाव चिन्ह रुख र चार तारे झण्डा हाल कसैसँग पनि नरहेको भन्दै सर्वोच्च अदालतमा बिचाराधीन रहेको बताएका छन् ।

बिहीबार नेता खड्काले प्रेस विज्ञप्ति जारी गरेर केही समूहले चार तारे झण्डा र चुनाव चिन्ह रुख आफूसँग छभनेर भ्रामक र आधारहीन प्रचार गरिरहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

नेता खड्काले भने, ‘१५औँ महाधिवेशनमार्फत आफ्नो अधिवेशन सम्पन्न गर्ने प्रक्रियामा अघि बढिरहेको बेला केही समूहले महाधिवेशनको नोटिस गरी नेपाली कांग्रेसलाई विभाजित गर्ने गम्भीर प्रयास गरेको छ ।’

‘हाल आएर चुनाव चिन्ह रुख र चारतारे झण्डा हामीसँग छ भनी केहि समूहहरूले भ्रामक र आधारहीन प्रचार गरिरहेको छ । तर, चुनाव चिन्ह रुख र चारतारे झण्डाको विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको सबैमा जानकारी गराउन चाहन्छु,’ नेता खड्काले भने ।

तथाकथित विशेष महाधिवेशनबाट गगन थापाले नेपाली कांग्रेसलाई भृकुटीमण्डपमा हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेर गतिविधि गर्दै आएका छन् । शेरबहादुर देउवा पक्षीय नेताहरूले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएपछि पुनरावलोकनका लागि निस्सा पाएका छन् । सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकताको मुद्दा रहेका बेला कांग्रेसका हाइज्याकरहरूले गरिरहेको गतिविधिलाई देउवा पक्षीय नेताहरूले विरोध गरेका छन् ।

‘सम्मानित सर्वोच्च अदालतको न्यायप्रति मेरो पूर्ण विश्वास छ र हामीले उचित न्याय पाउनेछौँ भन्नेमा म आशावादी छु,’ नेता खड्काले भने ।

‘म प्रेस स्वतन्त्रतामा विश्वास गर्छु र यसको पूर्ण सम्मान गर्छु । तर, केही सञ्चारमाध्यममार्फत भ्रम फैलाउने यलो जर्नलिज्मलाई प्रश्रय दिने प्रवृत्तिप्रति पनि म गम्भीर खेद व्यक्त गर्दछु,’ नेता खड्काले भने ।

‘पार्टी, समूह साथै व्यक्तिको नाममा विभिन्न फेसबुक आईडी तथा पेज सञ्चालन गरी तथ्यहीन सूचना फैलाउने, आफ्नो गलत नैरेटिभ स्थापित गर्न खोज्ने, व्यक्तिगत गालीगलौज गर्ने तथा लोकतान्त्रिक मूल्य, मान्यताविपरीत गतिविधि गर्ने प्रवृत्ति पनि स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘असहमतिको अभिव्यक्ति तथ्य, तर्क र मर्यादाको सीमाभित्र रहेर हुनुपर्छ ।’

‘स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक संस्कारको संरक्षण गर्दै भ्रम, घृणा र गालीगलौजको राजनीतिलाई निरुत्साहित गर्नु आजको आवश्यकता हो,’ कांग्रेस नेता खड्काले भने ।

‘नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत वडा अधिवेशन २०८३ असोज १५ गते, नगर अधिवेशन असोज २० गते, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कार्तिक १५ गते र प्रदेश कार्य समिति अधिवेशन मंसिर ४ गते हुने भएकाले उक्त सबै अधिवेशनमा सक्रिय सहभागिता जनाउनुहुन जिल्लाका नेपाली कांग्रेसका समस्त क्रियाशील साथीहरूमा हार्दिक अपील गर्दछु,’ नेता खड्काले भने ।

पूर्वमन्त्री समेत रहेका नेता खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही मिति २०८३ साल मंसिर २१, २२ र २३ गते सम्पन्न हुने निश्चित भएको सर्वविदितै रहेको बताएका छन् ।

Published : Thursday, 2026 September 17, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया