गगन निकट कांग्रेस नेता चौलागाईलाई सीआईबीद्वारा मन्थलीबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई उच्चपदस्थ व्यक्तिहरूको नाम लिएर अबैध असुली गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

बिहीबार सीआईबीको टोलीले कांग्रेस नेता चौलागाईंलाई रामेछापको मन्थलीबाट पक्राउ गरेको जनाएको छ । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापासँग निकट रहेका नेता चौलागाईंले अबैध असुली गरेको उजुरीका आधारमा सीआईबीले पक्राउ गरेको छ ।

नेता चौलागाईं असोज ३ गतेदेखि शुरु हुन लागेको रामेछापको अधिवेशनमा भाग लिन मन्थली आएका बेला सीआईबीको टोलीले पक्राउ गरेको हो । चौलागाईं कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन् ।

उच्च पदस्थहरूको नाम लिएर रकम असुल गरेको आरोपमा कांग्रेस नेता चौलागाईलाई नियन्त्रणमा लिइएको सीआईबी) प्रमुख (एआईजी) उमाप्रसाद चतुर्वेदीले बताए ।

चौलागाईंले रकम असुलीका लागि गतिविधि गरेको अडियो सीआईबीले फेला पारेको छ । एआईजी चतुर्वेदीले चौलागाईंविरुद्ध केही प्रमाणहरू फेला परेको र भेरिफिकेशनसका लागि नियन्त्रणमा लिएको बताएका छन् । चौलागाईंलाई काठमाडौं ल्याएर थप अनुसन्धान गरिने चतुर्वेदीले जानकारी दिएका छन् ।

यसअघि, कांग्रेस नेता चौलागाईविरुद्ध चेक बाउन्स मुद्दा समेत परेको थियो । चौलागाईविरुद्ध काठमाडौं प्रहरीमा बैङ्किङ कसूरमा जाहेरी परेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका–८ का सानुभाइ थापाले चौलागाईविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

कांग्रेस नेता चौलागाईले थापालाई दिएको ८० लाख रुपियाँको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी गरेका थिए । माछापुच्छ्रे बैंक लाजिम्पाट शाखाको चेक चौलागाईले थापालाई दिए पनि साटिएको थिएन ।

थापासँग चौलागाईले जग्गा कारोबारको लागि तीन करोड ९२ लाख रुपियाँ लिएको उजुरी परेको थियो । ८० लाख बाहेक चौलागाईले दिएको अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स भएको थापाले तत्कालीन समयमा बताएका थिए ।

चौलागाई रामेछापको सुनापाति गाउँपालिका–१ का निवासी हुन् । चौलागाईले आफ्नो नाम लेखेर बेला बेलामा रामेछापका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला र तथा ट्र्याक–सुट समेत वितरण गर्दै आएका थिए ।

Published : Thursday, 2026 September 17, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया