कैयन राष्ट्रले आफ्नो अस्तित्व गुमाएको इतिहाँस छ, हामी त्यही चौबाटोमा उभिएका छौँ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुनै पनि राष्ट्रको जीवनमा अनेकन् उतार, चढाव र सफलता, बिफलता आउने गरेको बताएका छन् ।

बिहीबार अपील जारी गरेर नेता डा.कोइरालाले भने, ‘नेतृत्वले समझदारीपूर्वक सहमति र सहकार्यबाट अगाडि बढे राष्ट्र जोगिन्छ नत्र कैयन राष्ट्रले आफ्नो अस्तित्व गुमाएको इतिहाँस हामी सबैलाई बिदितै छ ।’

‘नेपाल आज त्यही चौबाटोमा उभिएको छ । मुलुकको भविष्य र अस्तित्व कहाँ पुग्ने हो भन्ने चिन्ता सिर्जना भएको छ,’ डा.कोइरालाले भने ।

‘हामी नेपाली एकाकार भएकै कारण कहिल्यै कसैको अधिनमा बस्नु नपरेको गौरवशाली इतिहाँस निर्माण गर्न सकेका छौं’ उनले भने, ‘त्यस्तै नेपाली कांग्रेसको पनि आफ्नै गौरवशाली इतिहाँस छ ।’

नेता डा.कोइरालाले भने, ‘कांग्रेसले कहिल्यै कसैको गोटी भएर देशको स्वाधिनता र लोकतन्त्रसँग सम्झौता गर्न चाहेन ।’

‘पद, प्रतिष्ठा र प्रलोभनमा नपरी बिगतमा हाम्रा संस्थापक नेताहरूले हामीलाई निष्ठा, आदर्श र नैतिक शक्ति सहितको कांग्रेस छाडेर गएका छन्,’ उनले भने ।

‘यसको इतिहाँस संघर्ष, त्याग र बलिदानले मात्र भरिएको छैन, नेपाललाई आधुनिक राष्ट्र बनाउन र नागरिकको सर्वोच्चता कायम गर्न गरेको कार्य हामी सबैका लागि प्रेरणादायक छ,’ नेता डा.कोइरालाले भने ।

‘सबैका प्रणेता र मूूर्धन्य नेता वीपी कोइराला लगायत यस पार्टीका संस्थापक नेताहरूको राजनीतिक, नैतिक, सामाजिक र सांस्कृतिक जीवन दर्शनले सदासर्वदा हामी तमाम कांग्रेसजनको लागि मात्र होइन सम्पूर्ण नेपाली जनतालाई गौरवान्वित बनाइरहनेछ,’ डा.कोइरालाले भने ।

Published : Thursday, 2026 September 17, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया