प्रधानमन्त्री शाह र अमेरिकन कार्यबाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाह र बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको प्रधानमन्त्री शाहको निजी सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन् । शाहले जलवायु परिवर्तनको असरस्वरुप यस घटनाको सामना गर्नुपरेको बताएका छन् ।

शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् ।

नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्दै शाहले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताएका छन् ।

भेटका क्रममा अमेरिकन कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् । बोल्डिनले शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरेकी छिन् । बोल्डिनले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराएकी छिन् ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभागमा भाग लिन अमेरिका जानुभन्दा केही दिन अगाडि नेपालका लागि कार्यबाहक अमेरिकन राजदूत बोल्डिनबीच भेटवार्ता भएको छ ।

Published : Wednesday, 2026 September 16, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया