कुनै व्यक्तिको महत्वाकांक्षा वा कुनै तत्वको नियोजित षड्यन्त्रबाट कांग्रेस निस्तेज हुन सक्दैन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका राजनेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा कुनै तत्वको नियोजित षड्यन्त्रबाट निस्तेज हुन नसक्ने बताएका छन् ।
मंगलबार अपील जारी गरेर देउवाले भने, ‘एकातर्फ मुलुक प्राकृतिक विपत्तिका कारण गहिरो शोकमा डुबेको छभने अर्कोतर्फ मुलुककै अग्रणी राजनीतिक दल नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक मतभेदले आम नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको छ ।’
‘हाम्रा अग्रज नेताहरूको त्याग, बलिदान र संघर्षबाट स्थापित नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, आधुनिक नेपाल निर्माणको प्रमुख आधारस्तम्भ पनि हो,’ देउवाले भने, ‘२००७ सालदेखि आजसम्म भएका मुलुकका सबै प्रमुख राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्वदायी तथा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ ।’
देउवाले भने, ‘नेपाली कांग्रेस स्थापनाकालदेखि नै राष्ट्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अग्रजहरूको त्याग र बलिदानबाट निर्मित पार्टी हो । यसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा कुनै तत्वको नियोजित षड्यन्त्रबाट निस्तेज हुन सक्दैन ।’
‘नेपाली कांग्रेससँगै मुलुकमा क्रियाशील अन्य राजनीतिक दलहरूको योगदान र सहकार्यबाट नेपाल आजको अवस्थासम्म आइपुगेकोमा मलाई गर्व छ,’ देउवाले भने ।
उनले भने, ‘मुलुकमा केही भएन भन्नेहरूलाई मेरो एउटा मात्र अनुरोध छ– तीन दशक अघिको नेपाल र आजको नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएका परिवर्तनलाई तुलनात्मक रूपमा हेरौं । सीमित स्रोत र साधनका बीच पनि यस मुलुकले हासिल गरेको प्रगति स्पष्ट देखिन्छ ।’
‘विकास, परिवर्तन र उपलब्धिको मूल्याङ्कन गर्ने सबैभन्दा प्रभावकारी आधार तुलनात्मक अध्ययन नै हो,’ देउवाले भने, ‘यही दृष्टिकोणबाट विगत ३५ वर्षमा लामो राजनीतिक संक्रमणको अन्त्य गर्दै दलहरूले गरेका कामको वस्तुगत समीक्षासहित मुलुकलाई हेर्ने प्रयास गरौं ।’
‘नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायत क्रियाशील राजनीतिक दलहरूले केही गरेनन् भन्ने प्रश्नको उत्तर पनि त्यहीँबाट प्राप्त हुन्छ,’ देउवाले भने ।
‘यसको अर्थ हामीले प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्नुपर्छ भन्ने होइन । अझ धेरै काम गर्न बाँकी छ,’ देउवाले भने, ‘जनताको अपेक्षा पूरा गर्न, सुशासन स्थापित गर्न, रोजगारी सिर्जना गर्न, आर्थिक समृद्धि हासिल गर्न र मुलुकलाई विकसित मुलुकमा पु¥याउन तथा राज्यप्रतिको नागरिक विश्वास अझ सुदृढ बनाउन नयाँ सोँच, नयाँ ऊर्जा र नयाँ प्रतिबद्धतासहित अघि बढ्न आवश्यक छ । तर, उपलब्धिको समीक्षा गर्दा इतिहास र यथार्थलाई बिर्सनु हुँदैन ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया