कुनै पदप्रति लोभ छैन, कांग्रेस कमजोर बनाउने कार्य भयो भने मुकदर्शक बन्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको भन्दै पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर नबस्ने चेतावनी दिएका छन् ।

मंगलबार अपील जारी गरेर देउवाले भने, ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन । अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन ।’

‘तर, राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन,’ देउवाले भने ।

‘देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो,’ देउवाले भने ।

उनले भने, ‘नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदापनि सहमति बेगर हतारमा कथित विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरि अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर बस्न सक्ने छैन ।’

Published : Tuesday, 2026 September 15, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया