प्रश्न विधि र पद्धतिको हो, केही नेता समायोजन हुँदैमा कांग्रेसको विवाद समाधान हुँदैन : नेतृ तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विद्या तिमिल्सिनाले दुई/चार जना नेताहरूलाई समायोजन गर्दैमा पार्टीभित्रको विवाद समाधान हुन नसक्ने बताएकी छिन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत् नेतृ तिमिल्सिनाले प्रश्न विधि र विधानको रहेको बताएकी छिन् । उनले आफूलाई कुनै पनि पदको लोभ नरहेको बताएकी छिन् ।

नेतृ तिमिल्सिनाले भनेकी छिन्, ‘विधि र विधानको प्रश्न समाधान नगरी एकताको नाममा गरिएको निर्णयले समस्या झन् बल्झाउन सक्छ । १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा समाहित गर्ने निर्णयलाई सकारात्मक प्रयास मान्न सकिएला । तर, १५औँ महाधिवेशन कसले गर्ने भन्ने मूल प्रश्नको जवाफ नदिई यसलाई अन्तिम समाधान भन्न सकिँदैन ।’

‘हाम्रो स्पष्ट मान्यता छ वैधानिक रूपमा निर्वाचित कार्यसमितिले नै १५औँ महाधिवेशन गराउनुपर्छ,’ तिमिल्सिनाले भनिन्, ‘यो विषय अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतको निर्णयभन्दा माथि उठेर कुनै पक्षले गरेको एकपक्षीय निर्णयले वैधानिकताको प्रश्न समाप्त गर्दैन ।’

उनले भनिन्, ‘हामीलाई पदको लोभ छैन, व्यक्तिको विरोध पनि होइन । हामी विधि, विधान र लोकतान्त्रिक प्रक्रियाको पक्षमा छौँ । त्यसैले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने नाममा विधान मिच्ने होइन, विधानको सम्मान गर्दै एकता खोजौँ ।’

‘अर्को कुरा स्पष्ट हुनुपर्छ नेपाली कांग्रेसका सभापति सम्माननीय शेरबहादुर देउवाज्यूको योगदान र नेतृत्वको सम्मान हुनैपर्छ । असहमति राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । तर, लामो समय पार्टीको नेतृत्व गर्नुभएका नेताको योगदानलाई अपमान गरेर कांग्रेस कहिल्यै बलियो हुँदैन । एकता चाहिन्छ, तर आत्मसमर्पण होइन ।’

‘समायोजन चाहिन्छ । तर, वैधानिकता मिचेर होइन । नेतृत्वको सम्मान चाहिन्छ । तर, विधि र विधानको मूल्यमा होइन । व्यक्ति होइन— पार्टी ठूलो हो । पद होइन—विधि ठूलो हो । विभाजन होइन—सम्मानसहितको एकता हाम्रो चाहना हो,’ कांग्रेस नेतृ तिमिल्सिनाले भनेकी छिन् ।

तथाकथित विशेष महाधिवेशनबाट आफूलाई सभापति घोषणा गरेका गगन थापाले नियमित महाधिवेशन पक्षधर केही नेताहरूलाई प्रलोभनमा पारेर चोरेर लैजान खोजेका बेला नेतृ तिमिल्सिनाले आफूलाई पदको लोभ नरहेको बताएकी हुन् । उनले आफूलाई पद भन्दा पनि विधि, पद्धति र आत्मसम्मानप्रति प्रतिबद्ध रहेको जनाएकी छिन् ।

Published : Tuesday, 2026 September 15, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया