हामीले अर्को पार्टी बनाउँदै छैनौँ, कांग्रेस पार्टीकै अधिवेशन गर्दै छौँ : डा.महत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले आफूहरूले अर्को पार्टी बनाउन नलागेको भन्दै नेपाली कांग्रेसकै अधिवेशन गर्न लागेको बताएका छन् ।
सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा.महतले भने, ‘खाली यो रुख, रुख भनेको छ । हामीले अहिले अर्को पार्टी बनाउँदै छैनौँ । हामी नेपाली कांग्रेस पार्टीकै अधिवेशन गर्दै छौँ ।’
‘त्यो कसले गर्दै छभने १४औँ अधिवेशनबाट गठन भएको, नर्वाचित भएको कमिटी, शेरबहादुरजीको नेतृत्वमा हामीले दैनिक क्रियाकलापको अधिकार प्रा.डा.शशांक कोइरालालाई दिएर यसैले अधिवेशनको आयोजना गर्छ । यो फेयर हुन्छ,’ नेता डा.महतले भने ।
‘पार्टीका साथीहरूको सम्मान र भावनालाई कदर गर्छ । यसमा सहभागी हुन भनेका छौँ । जसले पदलाई महत्व दिँदैनन्, बिचारलाई महत्व दिन्छन्, बिचारलाई महत्व दिने साथीहरू असोज १५ गते हुने वडा अधिवेशन हुँदै मंसिरमा हुने महाधिवेशनमा भाग लिन्छन्,’ डा.महतले भने ।
तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति लक्षित गर्दै नेता डा.महतले भने, ‘उहाँहरूले ३ गते वडा अधिवेशनमा तपाईहरू भाग लिन आउनु हुन्छ भने १४औँ अधिवेशनको निर्वाचित नेतृत्व जो बाहिर छ उहाँहरूलाई त्यो मौका दिइनेछ योभन्दा अपमानजनक कुरा के हुन सक्छ ? हामी के केन्द्रीय सदस्य भयौँ ? भनेर देखाउनको लागि हामी यो पार्टीमा लागेका हौँ ? यसको मूल्य र मान्यता छैन ? वीपी कोइराला जस्तो मूर्धन्य नेतृत्वले स्थापित गरेको पार्टी हो ।’
‘यसको मूल्य र मान्यता छ । संस्कार छ । ती संस्कार पूरै तिलाञ्जलि दिएर मानौँ कि यो अलिकति तँ भइस् भनेर सबै चिज समाधान हुन्छ भन्ने कुरा कसैले सोँच्न सक्छ ? स्वाभिमान भएको पार्टीका साथीहरूले त्यसरी जान सकिन्छ ? हामीले त धेरै पहिला यसरी समायोजन गरेर जान सकिन्छ भनेर भनेका थियौँ,’ उनले भने ।
‘त्यो बेला उहाँहरूले सम्बोधन गर्नुभयो ? अब ३ गते अधिवेशन आइसक्यो, ३ गते तिमीहरू आयौ भने त्यो बेलाबाट तपाईहरू केन्द्रीय सदस्य हुन सक्नु हुन्छ रे । यो कसैको व्यक्तिगत निगाहले हुने कुरा हो ? घाउमा नुन छर्किने जस्तो अपमानजनक कुरा हो । देशभरिका साथीहरूले यो कुरा बुझिसकेका छन्,’ डा.महतले भने, ‘उहाँहरू सार्थक पार्टी एकता गरेर एकताको महाधिवेशन गर्न चाहनु हुन्न ।’
डा.महतले भने, ‘अदालतको प्रक्रियालाई त्रुटिपूर्ण भनिसकेको छ । सर्वोच्च अदालतले पुनरावलोकन गर्दैछ । उहाँहरूले त्यसलाई पर्खिनु भयो ? हाम्रो अनुरोध तपाईहरू अधिवेशन स्थगित गर्नुस् । स्थगित गरेको खण्डमा त हामी पनि स्थगित गरेर राजनीतिक समाधान निस्कन्छ कि भनेर लाग्ने थियौँ नि । ल अदालतको प्रक्रियामा नपर्नु एउटा राजनीतिक सहमति गरौँ भनेर जान पनि सकिन्थ्यो । त्यो बाटो उहाँहरूले बन्द गरेको हो ।’
डा.महतले शेरबहादुर देउवा पक्षीय नेताहरूको असोज १५ गतेदेखि शुरु हुने अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । उनले भने, ‘मंसिर १५ देखि शुरु भएर मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनमा भाग लिन हामी आह्वान गर्छौं । त्यो नै पार्टीलाई बचाउने, मूल भावनालाई बचाउने योभन्दा अर्को उपाय छैन ।’
गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसमा एकता नै नचाहेको उनले बताएका छन् । ‘उहाँहरूले गम्भीर सहमतिको प्रयास नै गर्नु भएन । खाली मिडियाबाजी मात्रै गर्नुभयो,’ डा.महतले भने, ‘उहाँहरूले ठोस पहल न शेरबहादुर देउवाजीसँग गर्नु भयो । १४औँ महाधिवेशनबाट निर्वाचित १५औँ महाधिवेशनमा जाने कुरा गर्दै छौँ । कसैसँग पनि ठोस पहल उहाँहरूबाट गरेको हामीलाई थाहा छैन ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया