कांग्रेस हाइज्याकरको जालझेलपूर्ण निर्णय देउवा पक्षद्वारा खारेज, नेता, कार्यकर्ताहरूको आत्मसम्मान पदसँग सौदाबाजी हुँदैन
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत् सहमतिमा पुग्ने वा अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रुपमा अगाडि बढाउनलाई कुनैपनि हालतमा उचित मान्न नसकिने बताएका छन् ।
सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर संयोजक प्रा.डा.कोइरालाले भने, ‘पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानीत सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रुपमा अगाडि बढ्नु कुनैपनि हालतमा उचित मान्न सकिन्न ।’
उनले पार्टीको मूलमर्म, लोकतान्त्रिक मूल्य, मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले शुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको बताएका छन् ।
‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो,’ प्रा.डा.कोइरालाले भने, ‘तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन ।’
संयोजक प्रा.डा.कोइरालाले निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए ।
नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने प्रा.डा.कोइरालाले बताएका छन् ।
उनले विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपु¥याउन आफूहरूले आग्रह गरेको बताए । तथाकथित विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई वेवास्ता गरेको प्रा.डा.कोइरालाले बताएका छन् ।
प्रा.डा.कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको बताए । उनले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानूनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको बताए ।
उनले विद्यमान अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन अपिल गर्दै आश्विन ३ गतेबाट विधि प्रकृया मिचेर शुरु गर्ने भनिएको तथाकथित अधिवेशन÷महाधिवेशनमा भाग नलिन आग्रह गरेका छन् ।
उनले भने, ‘१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।’
संयोजक प्रा.डा.कोइरालाले नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहीत भएको भन्दै विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सक्ने बताएका छन् ।
संयोजक प्रा.डा.कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, जनविश्वास र राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस आज असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए । उनले भने, ‘पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो ।’
तथाकथित विशेष महाधिवेशनबाट आफूलाई सभापति घोषणा गरेका गगन थापाले सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला वार्ता, सम्वाद, सहमति र सहकार्य विपरीत महाधिवेशनको कार्यतालिका एकलौटी घोषणा गरेर अगाडि बढेका छन् । उनले जालझेलपूर्ण निर्णय गर्दै पदसँग कांग्रेसका नेता तथा कार्यकर्ताहरूको आत्मसम्मान साट्ने गरेर प्रस्ताव गरेरपछि शेरबहादुर देउवा पक्षीय नेताहरूले कांग्रेसका हाइज्यकरहरूको प्रस्ताव सिधै खारेज गरिदिएका छन् ।


बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया