देवीघाटमा नेपाली सेनासँग देउवाको भेट, धेरै-धेरै धन्यवाद है, अझै राम्रो गर्नु होला

नुवाकोट । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नुवाकोटको देवीघाटमा बेलिब्रिज निर्माण गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिएका छन् ।

बिहीबार नुवाकोटमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देवीघाटमा सेनासँग भएको भेटका क्रममा देउवाले धन्यवाद दिएका हुन् ।

‘धेरै–धेरै धन्यवाद है, धेरै–धेरै धन्यवाद,’ निरीक्षणका क्रममा भेटिएका नेपाली सेनासँग देउवाले भने, ‘नेपाल आर्मीले यो साच्चिकै अत्यन्तै नेपाली जनता दुःखमा परेको बेलामा साथ दिएर बेलीब्रिज बनाइदिएको छ, नुवाकोटका दाजुभाइ, उहाँ माथि देखिका मान्छे आवत जावत गरुन् भनेर । म धन्यवाद दिन्छु ।’

देउवाले नेपाली सेनालाई अझै राम्रो काम गर्न पनि आग्रह गरेका छन् । ‘तपाईंहरू अझै राम्रो काम गर्नु होला,’ उनले भने ।

देउवासहितका नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेत, गुरु बराल, कुन्दनराज काफ्लेसहितका नेताका साथ नुवाकोट बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।

Published : Thursday, 2026 September 10, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया