हतारमा १५औँ महाधिवेशन गरे अर्को विवाद सिर्जना हुन्छ, १४औँ नेतृत्वलाई समेट्दै जानुपर्छ : नेता मल्ल
काठमाडौं । नेपाली कांग्रेसका नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले तथाकथित विशेष महाधिवेशनले पार्टीलाई विभाजित बनाएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेता मल्लले कसैको पनि अपमान नगरेर तथाकथित विशेष महाधिवेशनबाट आएकाहरूले १४औँ महाधिवेशनको नेतृत्वलाई समेट्दै १५औँ महाधिवेशनमा सहभागी हुने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘मेरो व्यक्तिगत धारणा के हो भने विगतको योगदानलाई सम्मान गर्दै, कसैलाई अपमान वा बहिष्कार नगरी, सबै पक्षलाई समेटेर १४औँ महाधिवेशनबाट आएका नेतृत्व र विशेष महाधिवेशनबाट उत्पन्न परिस्थितिलाई समेत समेट्दै १५औँ महाधिवेशनमा एकताको बाटो खोज्नु सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ ।’
‘अहिलेको यो अवस्थालाई मध्यनजर गरेर महाधिवेशन हतारमा गरेर फेरि अर्को विवाद सिर्जना गर्नुभन्दा पार्टीको विधानले दिएको समय र विशेष परिस्थितिमा उपलब्ध संवैधानिक, वैधानिक विकल्पहरूबारे गम्भीर छलफल गर्दा राम्रो,’ नेता मल्लले भने ।
‘नयाँ क्रियाशील सदस्यलाई अवसर दिँदै, पुराना क्रियाशील सदस्यताको निष्पक्ष छानबिन गर्दै जाँदा राम्रो हुन्थ्यो,’ मल्लले भने, ‘भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई व्यवस्थित गर्दै । विदेशस्थित नेपाली कांग्रेसका संरचनालाई पनि व्यवस्थित र सक्रिय बनाउँद । अनि वडा तहदेखि नै विधिसम्मत, पारदर्शी र सबैलाई समेट्ने अधिवेशनको वातावरण बनाउँदा राम्रो हुन्थ्यो ।’
उनले भने, ‘नेतृत्वमा को आउँछ भन्नेभन्दा महत्वपूर्ण कुरा, नेतृत्वले सबैलाई कसरी समेट्छ भन्ने हो । व्यक्तिपूजा होइन, विचारको सम्मान गरौँ । गुट होइन, संगठन बलियो बनाऔँ ।’
नेता मल्लले भने, ‘प्रतिशोध होइन, सहमति र सहकार्यको बाटो रोजौँ । बहिष्कार होइन, समावेशी कांग्रेस निर्माण गरौँ । कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ । पार्टी बलियो भयो भने नेता पनि बलिया हुन्छन् । लोकतन्त्र बलियो भयो भने देश जनता र समाज पनि बलियो हुन्छ ।’
‘अब समय आएको छ एकले जित्ने होइन, नेपाली कांग्रेसले जित्ने वातावरण बनाउने,’ उनले भने, ‘पार्टीभित्रको लामो समयदेखिको आन्तरिक मतभेद, गुट उपगुट र शक्ति संघर्षले पछिल्लो समय जुन रूप लिएको छ, त्यसबाट हामी सबैले गम्भीर पाठ सिक्न आवश्यक छभन्ने लाग्छ । विशेष महाधिवेशन हुँदै गर्दा र त्यसपछि भएका घटनाक्रमले पार्टीलाई एकताबद्ध बनाउनुभन्दा अझ विभाजित बनाएको अनुभूति धेरै कार्यकर्ताले गरेका मैले महसुस गरेको छु ।’
‘हामीले जतिसुकै आदर्श, सिद्धान्त र लोकतन्त्रका कुरा गरे पनि पार्टीभित्र गुटीय स्वार्थ, भागबण्डा र व्यक्तिपूजाको प्रवृत्ति हावी भयो भने संगठन बलियो हुन सक्दैन,’ उनले भने, ‘कुनै एक समूहले मात्र पार्टी चलाउने र अर्को समूहलाई निरन्तर बाहिर राख्ने हो भने अन्ततः त्यसको असर पार्टीकै संगठन, जनविश्वास र निर्वाचन परिणाममा पर्न सक्दछ ।’
‘अहिलेको अवस्थामा पार्टीलाई जिताउनेभन्दा पनि पार्टीलाई जोगाउने र एकताबद्ध बनाउने सोच आवश्यक छ,’ कांग्रेस नेता मल्लले भने ।
‘हाम्रा नेताहरू पूर्णबहादुर खड्का र डा.शेखर कोइरालालगायतका नेताहरूबीच पार्टी एकता, विवाद समाधान र १५औँ महाधिवेशनलाई सहज बनाउने विषयमा सहमतिको वातावरण बन्दै गएको हो भने यो सकारात्मक सुरुवात हो,’ मल्लले भने, ‘अदालतमा विचाराधीन विवादहरूलाई पनि आपसी समझदारी र कानूनी प्रक्रियाअनुसार समाधान गरेर अघि बढ्ने वातावरण बन्नु पार्टीका लागि अझै राम्रो कुरा हुने थियो ।’
‘मेरो विचारमा अब सबैभन्दा महत्वपूर्ण कुरा कसले कसलाई हराउने होइन, सबैलाई सम्मानजनक रूपमा समेटेर नेपाली कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने हो,’ उनले भने ।
‘नेपाली कांग्रेसको इतिहासमा वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका नेताहरूले आफ्नो आफ्नो समयमा पार्टी र लोकतन्त्रका लागि योगदान दिनुभएको छ,’ मल्लले भने, ‘आज शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका समकालीन अग्रज नेताहरूको पनि लामो राजनीतिक योगदान छ । भोलिका दिनमा गगन थापा, विश्वप्रकाश शर्मा लगायत नयाँ पुस्ताका नेताहरूको पनि इतिहासमा सम्मानपूर्वक नाम आउनुपर्छ ।’
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया